इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आफ्ना छोराको हत्या गर्ने प्रयास गरेको गम्भीर दाबी गरेका छन्। इजरायली च्यानल १४ सँगको अन्तर्वार्ताका क्रममा उनले इरानले आफ्नो परिवारलाई निशाना बनाउँदै छोराको हत्याको प्रयास गरेको बताएका हुन्। तर, यो आक्रमणको प्रयास कहिले र कसरी भएको थियो भन्नेबारे भने उनले कुनै विस्तृत विवरण खुलाएका छैनन्।
नेतन्याहूका दुई छोराहरू यायर र एभनर रहेका छन्। इजरायली सञ्चारमाध्यम च्यानल १२ का अनुसार यो सम्भावित आक्रमणको प्रयास जेठा छोरा यायर नेतन्याहूलाई लक्षित गरी उनी देशबाहिर रहेको समयमा भएको अनुमान गरिएको छ। यायर सन् २०२४ देखि अमेरिकाको मियामीमा रहँदै आएका छन् र उनलाई इजरायली आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ ले सुरक्षा दिँदै आएको छ।
आफ्नो परिवारमाथि सुरक्षा खतरा रहेको बताउँदै प्रधानमन्त्री नेतन्याहूले श्रीमती र छोराहरूलाई दिइँदै आएको २४ सै घण्टाको कडा सुरक्षा कुनै मोजमस्ती नभई जीवन रक्षाका लागि अनिवार्य आवश्यकता भएको स्पष्ट पारेका छन्। विपक्षी दलहरूले विदेशमा बस्ने उनका छोरालाई दिइएको उच्च सुरक्षामाथि प्रश्न उठाइरहेका बेला नेतन्याहूको यो बयान आएको हो।