न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • सोमवार, भदौ ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 551
    SHARES
social media

न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानून अघि बढाएको छ । सरकारले सामाजिक सञ्जालका कारण बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र शिक्षामा असर परेको भन्दै कडा उमेर सीमा प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभाव स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार १३ देखि १७ वर्ष उमेर समूहका तीनमध्ये एक बालबालिकाले दैनिक कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन् । सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री, लत लगाउने प्रविधि र मानसिक दबाबको जोखिममा पारिरहेको उहाँको भनाइ छ ।

प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी भए–नभएको सुनिश्चित गर्नुपर्नेछ । त्यसका लागि खाता विवरण, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि, डिजिटल परिचयपत्र वा औपचारिक परिचयपत्र प्रयोग गर्न सकिनेछ । नियम उल्लङ्घन गर्ने मेटालगायत कम्पनीलाई विश्वव्यापी राजस्वको १० प्रतिशतसम्म जरिवाना हुन सक्नेछ । बालबालिका वा उनीहरूका अभिभावकलाई भने दण्ड नहुने शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बताउनुभयो ।

तर प्रस्तावित कानूनलाई राजनीतिक चुनौतीसमेत देखिएको छ । सरकारमा सहभागी एक्ट पार्टी र एनजेड फर्स्टले यसको विरोध गरेका छन् । अस्ट्रेलियामा यस्तै व्यवस्था प्रभावकारी नभएको र किशोरकिशोरीले प्रतिबन्ध छल्न सक्ने उनीहरूको तर्क छ । मुख्य विपक्षी लेबर पार्टीले पनि उमेर प्रमाणीकरण कसरी गरिने र कुन प्लेटफर्मलाई प्रतिबन्धमा समेटिने भन्ने विषयमा थप स्पष्टता मागेको छ ।

लेबरका प्रवक्ता रुबेन डेभिडसनले अनलाइन वातावरण जटिल बन्दै गएकाले युवाको सुरक्षासम्बन्धी जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानून लागू गरेको थियो । बेलायत, फ्रान्सलगायतका देशले पनि यस्तै उपाय अघि बढाएका छन् । यद्यपि, गत जुनमा प्रकाशित एक अध्ययनले अस्ट्रेलियाको प्रतिबन्धपछि किशोरकिशोरी सामाजिक सञ्जालबाट उल्लेख्य रूपमा टाढिएको प्रमाण निकै कम रहेको देखाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ