अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यलाई अमेरिकाको नयाँ भूभाग भएको दाबी गरेपछि अमेरिका र इरानबीचको तनाव चरम उत्कर्षमा पुगेको छ।
ट्रम्पले ट्रुथ सोसलमा होर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा देखाइएको नक्सा शेयर गर्दै उक्त क्षेत्रमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको र जहाजावतका लागि खुला गरिएको दाबी गरेका छन्। साउथ क्यारोलाइनाको र्याली तथा न्युयोर्कको कार्यक्रममा बोल्दै उनले यस क्षेत्रमा अमेरिकाको नियन्त्रण रहेको र चाँडै नै यसलाई आधिकारिक रूपमा अमेरिकी भूभाग घोषित गर्ने बताएका छन्।
अर्कोतर्फ, इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रजाईले ट्रम्पको दाबीलाई भ्रम र यथार्थभन्दा टाढाको कुरा भन्दै पूर्ण रूपमा खारेज गरेका छन्।
उनले होर्मुज जलडमरूमध्य अहिले पूर्ण रूपमा बन्द गरिएको र अमेरिकाले आफ्नो व्यवहार तथा अडान नसच्याएसम्म यो नखुलिने चेतावनी दिएका छन्। इरानले जलमार्गमा आफ्नो नियन्त्रण रहेको दोहोर्याइरहँदा ट्रम्प प्रशासनले भने इरानमाथि इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।