उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रतर्फ प्रहार गरेको भोलिपल्ट अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा छ दिनअघि सम्पन्न गरेका छन् । अभ्यास अवधि घटाउनु तनाव कम गर्ने अमेरिकी प्रयासका रूपमा हेरिए पनि उत्तर कोरियाले यसलाई वार्तामा फर्किने पर्याप्त सङ्केत मानेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यासमा उल्लेख्य कटौती गर्न निर्देशन दिनुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किम जोङ–उनसँगको राम्रो सम्बन्ध र इरानमा भएको युद्धमा दक्षिण कोरियाले अमेरिकालाई समर्थन नगरेको अवस्थालाई अभ्यास कटौतीको कारण बताउनुभएको थियो ।
तर किम जोङ–उनकी बहिनी किम यो जोङले अभ्यासको अवधि र आकार घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ परिवर्तन नहुने बताउनुभएको थियो । त्यसको भोलिपल्ट उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो ।
अमेरिकी प्यासिफिक कमान्डले क्षेप्यास्त्र प्रहारबाट अमेरिकी भूभाग वा सहयोगीलाई तत्काल खतरा नपरेको जनाएको छ । यसबीच किम यो जोङको वक्तव्यले ट्रम्प र किम जोङ–उनबीच वार्ता पुनः सुरु हुने सम्भावनाबारे देखिएको आशा कमजोर बनाएको छ ।
सन् २०१९ मा आणविक वार्ता असफल भएपछि उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम आधुनिकीकरणलाई तीव्र बनाएको छ । साथै युक्रेन युद्धका क्रममा रुससँग सैन्य सहकार्य विस्तार गरेको छ । रुसलाई गोला–बारुद र सैनिक सहयोग दिएबापत प्योङयाङले आर्थिक तथा सैन्य सहयोग प्राप्त गरिरहेको विश्लेषण गरिएको छ ।
यद्यपि किम यो जोङले तुलनात्मक रूपमा संयमित भाषा प्रयोग गर्दै आफ्ना भाइ र ट्रम्पबीचको ‘उत्कृष्ट’ सम्बन्धको उल्लेख गर्नुभएको छ । यसले उत्तर कोरियाले वार्ताको ढोका पूर्ण रूपमा बन्द नगरेको र भविष्यमा आणविक शक्तिका रूपमा मान्यता तथा प्रतिबन्ध राहतजस्ता अमेरिकी सहुलियत खोज्न सक्ने सङ्केत गरेको विश्लेषकहरूको भनाइ छ ।
सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लेइफ–एरिक इस्लेले उत्तर कोरियाले वर्तमान रणनीतिक अवस्थाको उपयोग गर्दै अमेरिकाबाट थप आर्थिक तथा प्रतिष्ठासम्बन्धी लाभ लिन खोज्न सक्ने बताउनुभयो । उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राध्यापक किम डोङ–युबले भने व्यक्तिगत सम्बन्धले तत्काल अमेरिका–उत्तर कोरिया सम्बन्ध परिवर्तन गर्न नसक्ने प्योङयाङको धारणा देखिएको बताउनुभयो ।
किम यो जोङले ट्रम्पले किम जोङ–उनसँग वार्ताका लागि गरेको आग्रहको जवाफ प्राप्त भएको दाबी अस्वीकार गर्नुभएको छ । यस वर्ष किम जोङ–उनसँग भेट गर्ने सम्भावनाबारे सोध्दा ट्रम्पले आफूले उहाँसँग भेट गर्ने बताउनुभएको थियो ।
उत्तर कोरियाली सम्भावित आक्रमणको सामना गर्ने तयारीका लागि अमेरिका र दक्षिण कोरियाले सञ्चालन गर्ने प्रमुख वार्षिक अभ्यासमध्ये ‘उल्ची फ्रिडम सिल्ड’ एक हो । यसपटक अभ्यास अवधि घटाइएकाले दुई देशको संयुक्त सैन्य तयारी र प्रतिरोध क्षमताबारे भने बहस बढेको छ ।