अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको बहुचर्चित र ऐतिहासिक खगोलीय दूरबिन ‘स्विफ्ट अब्जर्भेटरी टेलिस्कोप’ यसै वर्षको अन्त्यसम्ममा पृथ्वीमा खसेर वायुमण्डलमै जली नष्ट हुने भएको छ। करिब २० वर्षदेखि अन्तरिक्षका रहस्य खोजिरहेको यो टेलिस्कोपलाई खस्नबाट बचाउन र माथिल्लो कक्षमा पुर्याउन सञ्चालन गरिएको विशेष बचाउ मिसन असफल भएपछि नासाले आफ्नो अभियान अधिकारिक रूपमा बन्द गरेको घोषणा गरेको छ।
सन् २००४ मा नासाले ब्रह्माण्डका सबैभन्दा शक्तिशाली मानिने ‘गामा-रे बर्स्ट’ (Gamma-ray Bursts) र ताराहरूको महाविस्फोटका घटनाहरू अध्ययन गर्न नील गेहरेल्स स्विफ्ट टेलिस्कोपलाई अन्तरिक्षमा प्रक्षेपण गरेको थियो। करिब ३० अर्ब अमेरिकी डलर लागतको यो टेलिस्कोपले विगत दुई दशकमा खगोल विज्ञानको क्षेत्रमा कैयौँ ऐतिहासिक खोजहरू गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
सूर्यकै तीव्र गतिविधि र मिसन असफलताको कारण
पछिल्लो समय सूर्यमा आएको असाधारण गतिशीलता र तापक्रमका कारण स्विफ्ट टेलिस्कोप रहेको कक्षको उचाइ अपेक्षाभन्दा तीव्र गतिमा घट्दै पृथ्वीतर्फ सोझिएको थियो। यसलाई जोगाउन नासाले एयरोस्पेस स्टार्टअप कम्पनी ‘क्याटलिस्ट स्पेस टेक्नोलोजी’ सँग ३ करोड डलरको सम्झौता गरी ‘लिङ्क’ नामक रकेटमार्फत विशेष अन्तरिक्ष यान पठाएको थियो। योजना अनुसार उक्त निजी यानले स्विफ्ट टेलिस्कोपसँग जोडिएर त्यसलाई धकेल्दै उच्च र सुरक्षित कक्षमा पुर्याउनुपर्ने थियो।
तर, प्रक्षेपणपछि प्राविधिक कारणले ‘लिङ्क’ यानलाई अन्तरिक्षमा नियन्त्रण गर्न कठिनाइ उत्पन्न भयो। नासाको खगोल भौतिकी विभागका निर्देशक शन डोमागल-गोल्डम्यानका अनुसार छोटो समय सीमा र सूर्यको अस्वाभाविक गतिविधिबिच सञ्चालन गरिएको यो उच्च जोखिमयुक्त मिसन प्राविधिक अवरोधका कारण सफल हुन सकेन।
पृथ्वीमा कति जोखिम छ?
हाल पृथ्वीभन्दा करिब ३४७ किलोमिटरको उचाइमा घुमिरहेको यो टेलिस्कोप खस्ने गतिलाई ढिलो बनाउन यसका वैज्ञानिक उपकरणहरू यसअघि नै बन्द गरिसकिएको छ।
नासाका वैज्ञानिकहरूका अनुसार टेलिस्कोप पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्दा वायुमण्डलको तीव्र घर्षण (Friction) का कारण आकाशमै बलेर खरानी हुनेछ। यसको धेरैजसो भाग हावामै नष्ट हुने भएकाले र स-साना टुक्राहरू मात्र समुद्र वा मानव बस्ती नभएको क्षेत्रमा खस्न सक्ने भएकाले पृथ्वीमा यसबाट ठूलो भौतिक वा मानवीय क्षति हुने जोखिम नरहेको वैज्ञानिकहरूले आश्वस्त पारेका छन्।