ट्रम्पद्वारा इरानविरुद्ध अभूतपूर्व आर्थिक कारबाहीको घोषणा

ट्रम्पद्वारा इरानविरुद्ध अभूतपूर्व आर्थिक कारबाहीको घोषणा

  • बिहिबार, भदौ ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत इरानविरुद्ध अभूतपूर्व स्तरको “आर्थिक युद्ध र नाकाबन्दी” सुरु गर्ने घोषणा गर्नुभएको छ। उहाँले यस कदमलाई “सबैभन्दा कडा आर्थिक कारबाही” र “आर्थिक डी-डे” को संज्ञा दिनुभएको छ। अमेरिका र इरानबीच चलिरहेको कूटनीतिक वार्ता ठोस निष्कर्षमा पुग्न नसकेपछि राष्ट्रपति ट्रम्पको यो कडा प्रतिक्रिया सार्वजनिक भएको हो।

यस घोषणाअनुसार इरानलाई कुनै पनि प्रकारको वित्तीय, व्यापारिक वा अन्य सहायता उपलब्ध गराउने देश, वित्तीय संस्था वा कम्पनीले अमेरिकाबाट अत्यन्त गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ। इरानलाई प्राप्त हुने आर्थिक सहयोग पूर्ण रूपमा रोक्नका लागि गैरकानुनी तेल तस्करी, मुद्रा सट्टापट्टा, नगद प्रवाह, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा फ्रन्ट कम्पनीहरूलाई मुख्य निसाना बनाइएको छ।

इरानको नौसेना, वायुसेना र सैन्य कारखानाहरू ध्वस्त भइसकेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले इरानी अर्थतन्त्र चरम संकटमा रहेको र यी ऐतिहासिक कदमहरूले उसलाई पूर्ण रूपमा थला पार्ने उल्लेख गर्नुभएको छ। प्रत्यक्ष सैन्य कारबाहीको सट्टा अमेरिकाले यसपटक इरानमाथि पूर्ण रूपमा कडा आर्थिक दबाब सिर्जना गर्ने रणनीति अख्तियार गरेको छ।

इरानमाथि पहिले नै व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागू भइसकेको पृष्ठभूमिमा अमेरिकाले थप कस्ता नयाँ सुक्ष्म प्रतिबन्धहरू लागू गर्नेछ भन्नेबारे भने अन्योल कायम छ। विश्लेषकहरूका अनुसार यो कदमको मुख्य उद्देश्य अमेरिकी नागरिकहरूलाई आश्वस्त पार्नुका साथै इरानसँग व्यापारिक सम्बन्ध कायम राखेका तेस्रो मुलुकहरूलाई सजग गराउनु हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी