काठमाडौँ — अमेरिका र इरानबीच स्थायी शान्ति कायम गर्ने उद्देश्यले गरिएको ६० दिने अस्थायी सम्झौता (एमओयू) बिना कुनै सहमति समाप्त भएको छ। सम्झौताको समयावधि सकिएसँगै दुवै देशबीच पुनः सैन्य मुठभेट र युद्धको जोखिम तीव्र बनेको छ।
गत जुन महिनामा फ्रान्सको भर्साइल्समा भएको सहमति अनुसार युद्धविराम गरी स्थायी शान्ति र इरानको परमाणु कार्यक्रम सम्बन्धी विवाद समाधान गर्न ६० दिनको समयसीमा तोकिएको थियो। तर, उक्त अवधिभर दुवै पक्षबीच कुनै ठोस सहमति हुन सकेन।
सम्झौता भएको केही दिनमै इरानले ओमानको तट नजिकै अमेरिकी सेनाको निगरानीमा रहेका जहाजी मार्गमा गोलाबारी गरेको थियो। त्यसको जवाफमा अमेरिकाले इरानी क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि अरब देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल प्रहार गरेको थियो। दुवै देशले एक-अर्कालाई जुन सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। इरानले अमेरिकासँगको प्रत्यक्ष वार्ता भङ्ग भइसकेको बताए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै वार्ता जारी रहेको दाबी गर्दै आएका छन्।
यस सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले दुवै देशलाई पुनः वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले वार्ताको अध्याय पूर्ण रूपमा बन्द नभएको बताए पनि स्थितिमा सुधार आउने सङ्केत देखिएको छैन।
होर्मुज जलडमरूमध्य (Strait of Hormuz) पुनः सञ्चालनका लागि इरानले राखेका सर्तहरूलाई अमेरिकाले अस्वीकार गरिदिएकाले मध्यपूर्व (पश्चिम एसिया) मा पुनः व्यापक तनाव र युद्धको वातावरण सिर्जना भएको छ।