युक्रेनले रुसमाथि सयौँ ड्रोन प्रहार गर्दै ठूलो हवाई हमला गरेको छ। आइतबार भएको यस आक्रमणमा परी रुसमा कम्तीमा सात जनाको मृत्यु भएको छ। सन् २०२२ को सुरुवातमा दुई देशबिच युद्ध सुरु भएयता युक्रेनले रुसमाथि गरेको यो सबैभन्दा ठूला हवाई हमलाहरू मध्ये एक हो। साथै, सन् २०२६ मा युक्रेनद्वारा रुसमाथि गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ।
रुसी रक्षा मन्त्रालयले युक्रेनका तर्फबाट प्रहार गरिएका ८२२ वटा ड्रोनलाई रोकेको दाबी गरेको छ। तीमध्ये अधिकांश ड्रोनको निशाना रुसको राजधानी मस्को रहेको थियो।
रुसी रक्षा मन्त्रालयद्वारा जारी वक्तव्य अनुसार रातभरमा युक्रेनका ८२२ ड्रोनहरू नष्ट गरिएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोतर्फ अघि बढ्दै गरेका करिब ६०० ड्रोनहरूको पहिचान गरिएको जानकारी दिए। मस्को क्षेत्रमा एउटा घरमा युक्रेनी ड्रोन खस्दा ८३ वर्षीय वृद्धको ज्यान गएको छ। यसै गरी पोदोल्स्क सहरमा रहेको ‘वाइल्डबेडिज’ (Wildberries) को गोदाममा पनि आगलागी भएको छ।
यसैबिच रुसको दक्षिण-पश्चिम रोस्तोभ क्षेत्रका गभर्नर युरी स्ल्याउसारले आफ्नो क्षेत्रका तीन सहरहरूमा भएका हमलामा परी पाँच जनाको मृत्यु भएको बताएका छन्। करिब १५० भन्दा बढी ड्रोनहरू प्रयोग गरी गरिएको उक्त आक्रमणबाट धेरै घरहरू, एउटा रेलवे स्टेसनमा क्षति पुग्नुका साथै जंगलमा डढेलो समेत लागेको थियो। स्थानीय कर्मचारी तथा दमकलकर्मीहरूले कठिन प्रयासपछि डढेलो नियन्त्रणमा लिएका थिए।
युक्रेनी सेनाले यस वर्ष रुसमाथिको आक्रमणलाई तीव्र बनाएको छ। युक्रेनले लामो दूरीका मिसाइल र ड्रोनको माध्यमबाट रुसका सैन्य उद्योग तथा ऊर्जा संयन्त्रहरूलाई निशाना बनाउँदै आएको छ।
अर्कोतर्फ, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युक्रेनको क्रिभी रिह (Kryvyi Rih) सहरमा रुसी मिसाइल आक्रमणमा परी दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताएका छन्। उनले सुमी सहरमा अर्का एक व्यक्तिको ज्यान गएको पनि बताए। युक्रेनको सबैभन्दा ठूलो स्टिल उत्पादक कम्पनी आर्सेलरमित्तल क्रिभी रिहले आफ्नो प्लान्टमा मिसाइल प्रहार भएको पुष्टि गरेको छ।
रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभका विभिन्न स्थानमा आगलागी भएको छ भने ६ जना घाइते भएका छन्। किभको सबैभन्दा ठूलो पुस्तक बजारमध्ये एकमा आगलागी हुँदा पोचाइना मेट्रो स्टेसन नजिकैका स्टलहरू जलेर नष्ट भएका छन्। राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्ना ब्यालिस्टिक मिसाइल पुग्न सक्ने सबै स्थानमा सर्वसाधारणका लागि उपयोगी पूर्वाधारहरूलाई निशाना बनाइरहेको आरोप लगाएका छन्।