इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

  • शनिबार, साउन ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 513
    SHARES

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् ।
भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए । समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ५ः५८ बजे फ्लोरेस क्षेत्रमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गेरा प्रान्तको एन्डे सहरबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा रहेको थियो । मुख्य भूकम्पपछि पटक–पटक परकम्पसमेत महसुस गरिएको थियो ।
पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी डार्मकोकोका अनुसार भूकम्पका कारण भवन भत्किँदा सिक्का रिजेन्सीमा दुई तथा मङ्गराई रिजेन्सीमा तीन जनाको मृत्यु भएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्क प्रभावित भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
“हामी क्षति र हताहतीको विवरण सङ्कलन गरिरहेका छौँ, तर सञ्चार सम्पर्कमा अवरोध छ,” डार्मकोकोले भन्नुभयो ।
स्थानीय टेलिभिजनमा प्रसारित दृश्यमा भूकम्पपछि सावधानीस्वरूप अस्पतालका बिरामीलाई भवनबाहिर निकालिएको देखाइएको थियो । अस्पतालका कर्मचारीले ओछ्यान, अक्सिजन सिलिन्डर र अन्य उपकरण बाहिर सारेर आपत्कालीन उपचारका लागि अस्थायी क्षेत्र तयार गरेका थिए ।
फ्लोरेसमा ठूलो क्षति
भूकम्प फ्लोरेस टापुको अधिकांश क्षेत्रमा महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार सिक्का र माउमेरे क्षेत्रमा भवनहरूमा ठूलो क्षति पुगेको छ ।
सिक्का रिजेन्सीकी बासिन्दा योहाना एम्बुले भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको र त्रसित मानिसहरू अग्लो स्थानतर्फ भागेको बताउनुभयो । “यहाँ धेरै भवनमा क्षति पुगेको छ । मैले माउमेरेस्थित बन्दरगाह टर्मिनलको प्रतीक्षालय भत्किएको देखेँ,” उहाँले भन्नुभयो ।
सिक्कास्थित सेन्ट पिटर मेजर सेमिनरीमा बिहानको प्रार्थनाका लागि भेला भएका विद्यार्थीहरू पनि भूकम्पबाट प्रभावित भएका थिए । सभाहलको छत भत्किएपछि विद्यार्थीहरू भागेका थिए । सेमिनरीका रेक्टर रेभरेन्ड गाइडेलबर्टस टाङ्गाका अनुसार भवनको दोस्रो तलाबाट हाम फाल्दा कम्तीमा एक पादरीको खुट्टा भाँचिएको थियो ।
छिमेकी पश्चिम नुसा तेङ्गारा प्रान्तको बिमा सहरमा पनि भूकम्पले त्रास फैलाएको थियो । दक्षिणी सुलावेसी टापुका केही क्षेत्रमा पनि क्षतिको विवरण आएको छ ।
इन्डोनेसियाली अधिकारीहरूले सुरुमा पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा, दक्षिण सुलावेसी र दक्षिणपूर्वी सुलावेसीका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरेका थिए । बासिन्दालाई समुद्री तट तथा नदी किनारबाट टाढा रहन आग्रह गरिएको थियो ।
भूकम्पको उच्च जोखिममा इन्डोनेसिया
सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । यस क्षेत्रमा सक्रिय ज्वालामुखी र फल्ट लाइनहरू रहेकाले मुलुक भूकम्प तथा ज्वालामुखी गतिविधिको उच्च जोखिममा रहेको छ ।
सन् १९९२ मा फ्लोरेस क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मा सात दशमलव पाँच म्याग्निच्युडको भूकम्पपछि आएको सुनामी र त्यसबाट भएको भू–तरलीकरणका कारण पालु सहरमा ठूलो विनाश भएको थियो । उक्त विपद्मा चार हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रा टापु नजिकै गएको नौ दशमलव एक म्याग्निच्युडको भूकम्पपछि आएको विनाशकारी सुनामीले हिन्द महासागर क्षेत्रका एक दर्जनभन्दा बढी देशमा करिब दुई लाख ३० हजार जनाको ज्यान लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी