काठमाडौँ। इराकमा विगत २३ वर्षदेखि रहँदै आएको अमेरिकी सैन्य उपस्थिति अन्त्य हुने भएको छ। सेप्टेम्बरको अन्त्य (असोज १४) सम्ममा अमेरिकी सेनाले इराक छाड्ने तय भएको इराकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
इराकी प्रधानमन्त्री अल-जैदी र अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरबीच बुधबार भएको उच्चस्तरीय भेटवार्तापछि यो निर्णयको औपचारिक पुष्टि गरिएको हो। सन् २००३ मा सद्दाम हुसैनको सत्ता पतनका लागि सुरु भएको अमेरिकी सैन्य अभियान २३ वर्षपछि पूर्ण रूपमा सकिन लागेको हो। इरान र अमेरिका-इजरायलबीच तनाव जारी रहेकै अवस्थामा अमेरिकाले इराकबाट आफ्ना सैनिक फिर्ता बोलाउने कदम चालेको छ।
भेटवार्तापछि इराकी प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इराकमा इस्लामिक स्टेट (ISIS) विरुद्ध अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको सैन्य मिसन अन्त्य गर्दै सेना फिर्ता प्रक्रिया पूरा गर्न सेप्टेम्बर ३० लाई अन्तिम म्याद तोकिएको छ।” विज्ञप्तिमा अगाडि भनिएको छ, “अक्टोबर १ देखि इराकको इतिहासमा नयाँ अध्याय सुरु हुनेछ, किनभने इराक कुनै पनि विदेशी सैन्य उपस्थितिबाट पूर्ण रूपमा मुक्त हुनेछ।”
अमेरिकी सेनाले गत वर्ष नै इराकका अधिकांश भूभागबाट आफ्ना बेसहरू खाली गरिसकेको भए पनि उत्तरी कुर्द क्षेत्रमा सैन्य उपस्थिति कायम राखेको थियो। गत फेब्रुअरी २८ मा इरानसँग द्वन्द्व सुरु भएयता उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा निरन्तर आक्रमण हुँदै आएका छन्। इराकी कुर्द अधिकारीहरूका अनुसार इरबिलबाट अमेरिकी सैनिक र सैन्य सामग्री हटाउने कार्य तीन हप्ताअघि नै सुरु भइसकेको छ।
अमेरिकी अधिकारीहरूले पनि सेप्टेम्बर ३० सम्ममा फिर्ती प्रक्रिया सकिने अपेक्षा गरिएको पुष्टि गरेका छन्। यद्यपि, हाल इराकमा कति सैनिक बाँकी छन् र उनीहरूलाई कहाँ स्थानान्तरण गरिनेछ भन्नेबारे थप जानकारी दिइएको छैन। सन् २०२४ मा अमेरिका र इराकबीच आइएसविरुद्धको मिसनलाई क्रमशः घटाउँदै लैजाने सहमति भएको थियो।