काठमाडौँ, २८। साउन टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर सुरक्षा खतरा उत्पन्न भएको खुलासा भएको छ। अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार ट्रम्प बसेको होटल र उहाँको कोठाको यकिन जानकारी इरानी एजेन्टहरूलाई भएको खबर पाएपछि ट्रम्पको फिर्ता हुने उडान योजना अन्तिम समयमा अचानक परिवर्तन गरिएको हो। न्यूयोर्क टाइम्सले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार नेटो सम्मेलनस्थल नजिकै काँधमा राखेर हान्न सकिने ‘सतहबाट हावामा प्रहार गर्ने मिसाइल’सहित एक संदिग्ध व्यक्ति देखिएका थिए, जसका कारण ट्रम्प सवार हुने आधिकारिक विमान ‘एयर फोर्स वान’माथि मिसाइल हमलाको ठूलो जोखिम बढेको थियो।
उक्त खुफिया सूचनालाई अत्यन्तै गम्भीरताका साथ लिँदै अमेरिकी सुरक्षा निकायले ट्रम्पको ज्यान जोगाउन एउटा अनौठो र भ्रामक रणनीति अपनाएको थियो। राष्ट्रपति ट्रम्प सुरुमा सबैका अगाडि पुरानो एयर फोर्स वान विमानमा चढेका थिए तर पछि उहाँलाई गोप्य रूपमा विमानस्थलको क्याटरिङ (खाना ओसार्ने) कन्टेनरमा राखेर बाहिर निकाली अर्कै सैन्य विमानमा राखेर टर्कीबाट बाहिर पठाइएको थियो। उता, सक्कली ‘एयर फोर्स वान’ विमान भने इरानी एजेन्टहरूलाई झुक्याउनका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो, अर्थमन्त्री स्कट बेसेन्ट, ह्वाइट हाउसका वरिष्ठ सल्लाहकारहरू र पत्रकारहरूलाई लिएर बेलायतका लागि उडेको थियो, जहाँ विमानभित्रका सबै यात्रुहरूलाई झ्यालको पर्दा बन्द राख्न निर्देशन दिइएको थियो। अङ्काराबाट बेलायत पुगेपछि मिडिया र क्यामेराको अगाडि ओर्लिनुअघि ट्रम्प पुनः गोप्य रूपमा उही ‘एयर फोर्स वान’ विमानमा सवार हुनुभयो, जसले गर्दा उहाँले सिङ्गो यात्रा एउटै विमानबाट गरेको भान परेको थियो।