विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

  • बुधबार, साउन २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (इभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ ।

चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन् । विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ । यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरियानजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेको थियो । चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग–इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ ।

यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनियाँ कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो । यसअघि बेइजिङ अटोमोटिभ ग्रुप (बीएआइसी)ले दक्षिण अफ्रिकाको ग्केबेरामा उत्पादन तथा एसेम्बली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटरले पनि स्थानीय एसेम्बली र पार्टपुर्जा आपूर्ति गर्दै आएको छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने दक्षिण अफ्रिकी संस्था ‘द इलेक्ट्रिक मिसन’का कार्यकारी निर्देशक हितेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताउनुभयो ।

विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ इभी लगानीका लागि बढी सम्भावना भएका देश हुन् । औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत् पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ । मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति शृङ्खलालाई सहयोग पुर्याउन सक्छ ।

स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्टपुर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ । मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ ।

तीव्र शहरीकरण, बढ्दो आम्दानी र चिनियाँ ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनियाँ अटोमेकरको बजार विस्तार भइरहेको छ । यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन् ।

‘जिरो कार्बन एनालिटिक्स’का ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभयो । स्थानीय रूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

‘क्रसबाउन्डरी इनर्जी’का प्रबन्ध निर्देशक टोम्बो बान्डाका अनुसार चिनियाँ कारखानाले आन्तरिक बजारको मागभन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढिरहेका छन् । त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनियाँ कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उहाँले बताउनुभयो ।

सरकारी नीतिले ईभी उत्पादनलाई प्रोत्साहन
अफ्रिकी मुलुकले ऊर्जा सुरक्षा र इन्धन आयात घटाउने उद्देश्यले यातायातसम्बन्धी नीति परिवर्तन गर्न थालेका छन् । अफ्रिकी सङ्घले अपनाएको ‘हरित खनिज रणनीति’ले महत्वपूर्ण खनिजको स्थानीय प्रशोधनलाई प्राथमिकता दिएको छ, जसबाट विद्युतीय सवारीको ब्याट्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इथियोपियाले जीवाश्म इन्धनबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदै स्वदेशमै एसेम्बल गरिएका विद्युतीय सवारीमा कम आयात शुल्क लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ ।

दक्षिण अफ्रिकाले भने विद्युतीय तथा हाइड्रोजनबाट चल्ने सवारी उत्पादनमा लगानी आकर्षित गर्न भन्सार छुट, उत्पादनमा आधारित कर सहुलियत, प्रत्यक्ष नगद लगानी र कर छुटलगायतका प्रोत्साहन उपलब्ध गराउँदै आएको छ ।

परमारका अनुसार चिनियाँ तथा अन्य एसियाली अटोमेकरको रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ । उनीहरू सवारी आयातमा मात्र निर्भर नरही स्थानीय एसेम्बली र उत्पादनतर्फ अघि बढिरहेका छन् ।

बान्डाले अफ्रिका अब आयातित सवारी साधनको बजारमा मात्र सीमित नरही उत्पादन केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अफ्रिकी बजारमा दीर्घकालीन पहुँच चाहने कम्पनीले स्थानीयस्तरमै उत्पादन र मूल्य अभिवृद्धि गर्नुपर्नेछ ।

दक्षिण अफ्रिका अग्रस्थानमा
दक्षिण अफ्रिकासँग स्थापित सवारी उत्पादन उद्योग, दक्ष जनशक्ति र निर्यात बजार भएकाले विद्युतीय सवारी उत्पादन विस्तारका लागि ऊ अग्रस्थानमा रहेको बान्डाको भनाइ छ ।

रोस्लिनजस्ता विद्यमान कारखानालाई नयाँ प्रविधिअनुसार परिमार्जन गर्न सकिने भएकाले नयाँ कारखाना निर्माणभन्दा कम समय र लगानीमा उत्पादन सुरु गर्न सकिने उहाँले बताउनुभयो ।

यद्यपि, पेट्रोल तथा डिजेलबाट चल्ने सवारी उत्पादनका लागि बनाइएका कारखानालाई विद्युतीय सवारी उत्पादनमा रूपान्तरण गर्नु जटिल हुने उहाँले बताउनुभयो । लगानी आकर्षित गर्न कर, भन्सार तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक पर्ने उहाँको भनाइ छ ।

भरपर्दो विद्युत् आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारबिना विद्युतीय सवारीको विस्तार कठिन हुने बान्डाले बताउनुभयो । उहाँका अनुसार ईभी उत्पादन र प्रयोग विस्तारका लागि स्वच्छ, भरपर्दो तथा किफायती विद्युत् र पर्याप्त चार्जिङ संरचना आवश्यक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी