काठमाडौँ। इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगिरहेका बेला इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने ‘होर्मुज जलडमरूमध्य’ (Strait of Hormuz) पुनः सञ्चालनमा ल्याउन अमेरिका समक्ष छ वटा कडा सर्तहरू अघि सारेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै अमेरिका र इजरायलको सैन्य आक्रामकताका कारण होर्मुज जलडमरूमध्य बन्द गर्नुपरेको स्पष्ट पार्नुभएको छ। प्रवक्ता बाघेईले अमेरिकाले इरानविरुद्ध लगाएको नौसैनिक नाकाबन्दी पूर्ण रूपमा नहटाएसम्म होर्मुज जलडमरूमध्य पुनः खोल्न सम्भव नरहेको चेतावनी दिनुभएको छ।
इरानले जलडमरूमध्य खोल्नका लागि अमेरिका सामु राखेका ६ प्रमुख सर्तहरू यस प्रकार रहेका छन्:
१. इरानविरुद्ध कुनै पनि किसिमको धम्की र धम्कीपूर्ण भाषाको प्रयोग अन्त्य गरिनुपर्ने।
२. लेबनान, प्यालेस्टाइन, यमन र इराकमा इरान तथा उसका सहयोगी समूहहरूमाथिको आक्रमण सदाका लागि रोकिनुपर्ने।
३. इरानमाथिको नौसैनिक नाकाबन्दी हटाएर अमेरिकी सेना फिर्ता हुनुपर्ने।
४. इजरायल र अमेरिकाको आक्रमणबाट इरानलाई भएको सम्पूर्ण क्षतिको क्षतिपूर्ति दिइनुपर्ने।
५. इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्धहरू तत्काल हटाइनुपर्ने।
६. अमेरिकाद्वारा रोक्का गरिएका इरानका सम्पूर्ण सम्पत्ति बिनासर्त फुकुवा गरिनुपर्ने।
फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने यो समुद्री मार्ग विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा जलमार्ग हो। विश्व बजारमा हुने कुल खनिज तेल र तरल प्राकृतिक ग्यास (LNG) को ठूलो हिस्सा यही बाटो भएर निर्यात हुने गर्दछ।
यसैबीच, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिका र इरानबीच हाल कुनै पनि प्रत्यक्ष वार्ता नभइरहेको प्रस्ट पार्नुभएको छ। यद्यपि, इरानले समुद्री जहाजहरूको सुरक्षित आवतजावतका लागि छिमेकी मुलुक ओमानसँग नयाँ वैकल्पिक समुद्री मार्गबारे छलफल गरिरहेको जनाएको छ। तर, ओमानसँगको सहमतिले मात्रै होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुल्ने र त्यसका लागि अमेरिकाले आफ्ना सर्तहरू मान्नैपर्ने इरानको अडान छ।