पूर्वी चीनमा टाइफुन ‘डल्फिन’ कमजोर भए पनि यातायात प्रभावित

पूर्वी चीनमा टाइफुन ‘डल्फिन’ कमजोर भए पनि यातायात प्रभावित

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी वर्षा भएपछि सयौँ उडान रद्द भएका छन् भने केही क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ ।

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)का अनुसार आँधीले आइतबार झेजियाङ प्रान्तको तटमा दुई पटक प्रवेश गरेपछि शक्ति गुमाएको हो । केन्द्रले सोमबार बिहान आँधीसम्बन्धी सबैभन्दा न्यून तहको चेतावनी जारी गरेको छ ।

यद्यपि, पूर्वी तथा मध्य चीनका केही क्षेत्रमा सोमबार पनि भारी वर्षा जारी रहने एनएमसीले जनाएको छ । झेजियाङको पूर्वी तथा दक्षिणी क्षेत्रमा अधिकारीहरूले उच्च तहको बाढी चेतावनी जारी गरेका छन् ।

साङ्घाईका दुई प्रमुख विमानस्थलबाट हुने ९४३ उडान सोमबार रद्द गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण साङ्घाईमा केही स्थानीय रेलसहित सार्वजनिक यातायात सेवा पनि प्रभावित भएका छन् ।

झेजियाङको निङ्बो अन्तरराष्ट्रिय विमानस्थलले स्थानीय समयअनुसार दिउँसोदेखि उडान सेवा पुनः सञ्चालन गर्ने जनाएको छ । तर आँधीको प्रभाव पूर्ण रूपमा हटिनसकेकाले केही उडान ढिलो वा रद्द हुन सक्ने विमानस्थलले चेतावनी दिएको छ ।

प्रान्तीय राजधानी हाङझाउमा आइतबार केही रेल सेवा रोकिएपछि सोमबार बिहानदेखि सबवे सेवा पुनः सञ्चालन गरिएको छ ।

यसैबीच, उत्तरी चीनमा पनि खराब मौसमको जोखिम बढेको छ । बेइजिङका पाँच जिल्लामा सोमबार भारी वर्षाका लागि उच्च तहको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले बाढी र पहिरोको जोखिमबारे सतर्क गराएका छन् ।

टाइफुन ‘डल्फिन’का कारण सप्ताहन्तमा चीनमा एक हजारभन्दा बढी उडान रद्द गरिनुका साथै दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघि दक्षिणी ग्वाङडोङ प्रान्तमा दुई साताअघि टाइफुन ‘नोल’ आएको थियो । अधिकारीहरूले उक्त आँधीलाई यस वर्ष चीनमा आएको सबैभन्दा शक्तिशाली आँधी बताएका थिए ।

गत महिना पनि दक्षिणी तथा मध्य चीनमा खराब मौसमका कारण ठूलो क्षति भएको थियो । ग्वाङ्सी क्षेत्रमा टाइफुन ‘मेसाक’का कारण आएको बाढीमा ३९ जनाको मृत्यु भएको थियो भने मध्य हुबेई प्रान्तमा आएको आँधी र हावाहुरीमा ११ जनाको मृत्यु तथा ३३१ जना घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी