मर्मिरे अनलाइन
काठमाडौँ, साउन २५ इरानले अमेरिकालाई कडा चेतावनी दिँदै यदि अमेरिकी सेना इरानी भूभागमा प्रवेश गर्ने प्रयास गरेमा गतिलो जवाफ सामना गर्नुपर्ने चेतावनी दिएको छ। इरानी सेनाको ‘ग्राउन्ड फोर्स’ का कमाण्डर ब्रिगेडियर जनरल अली जहानशाहीले इरानी फौज जुनसुकै वैदेशिक स्थल आक्रमणको प्रतिवाद गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जनरल जहानशाहीले भन्नुभएको छ, “यदि अमेरिकी सेनाको कुनै पनि जवानले इरानी भूमिमा पाइला टेकेमा हामी उनीहरूलाई काटेर फालिदिनेछौँ।”
उहाँले इरानको स्थल सेना सम्भावित खतराहरूमाथि निरन्तर निगरानी राख्दै देशको सीमा रक्षाका लागि उच्च सतर्कताका साथ तैनाथ रहेको बताउनुभएको छ। शत्रुको जुनसुकै कदमको कडा र कठोर जवाफ दिइने उहाँको भनाइ छ।
इरानी कमाण्डरको यो चेतावनी यस्तो समयमा आएको छ, जब अमेरिका र इरानबिच मध्यस्थकर्ताहरूमार्फत मात्र अप्रत्यक्ष संवाद भइरहेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले हाल अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नगरेको र केवल मध्यस्थकर्ताहरूमार्फत सन्देश आदान-प्रदान भइरहेको पुष्टि गर्नुभएको छ।
विदेशमन्त्री अराघचीका अनुसार धेरै देशहरू दुई देशबिच पुनः वार्ता गराउने प्रयासमा छन्। तर, वासिङ्टनले विगतका द्विपक्षीय सम्झौता उल्लङ्घनका गल्तीहरू नसच्याएसम्म तेहरान प्रत्यक्ष वार्ताका लागि तयार नहुने उहाँले स्पष्ट पार्नुभयो।
होर्मुज जलमार्ग (Strait of Hormuz) बाट हुने समुद्री यातायातको विषयमा ओमानसँगको छलफल अन्तिम चरणमा पुगेको भए पनि सम्झौता हुनासाथ जलमार्ग स्वतः नखुलिने इरानको भनाइ छ। अराघचीले होर्मुज जलमार्ग खोल्ने कुरा अन्य सर्तहरूमा निर्भर रहने र त्यसमा अमेरिकाले सम्झौता उल्लङ्घन गरेबापत क्षतिपूर्ति दिनुपर्ने सर्तसमेत सामेल रहेको बताउनुभएको छ।