आम आदमी पार्टी (AAP) का राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा आफ्नो सोसल मिडिया (मेटा) अकाउन्ट प्रतिबन्धित (Restricted) गरिएको दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत जानकारी दिँदै केजरीवालले मेटा (फेसबुक/इन्स्टाग्राम) को भारतस्थित कार्यालयसँग सोधपुछ गर्दा आफ्नो अकाउन्ट भारतभर ‘अनअभलेबल’ (उपलब्ध नहुने) बनाइएको भेटिएको बताएका हुन्।
अकाउन्ट प्रतिबन्ध हुनुको कुनै स्पष्ट कारण वा यसलाई पुनः सक्रिय (Restore) गर्ने प्रक्रियाबारे मेटाका अधिकारीहरूले केही नबताएको भन्दै उनले कम्पनीको सेवाप्रति असन्तुष्टि जनाएका छन्।
‘प्रधानमन्त्रीसामु धेरै नझुक्नुहोस्’: केजरीवालको कडा प्रहार
आफ्नो अकाउन्ट भारतभित्र रोकिने अवस्था आएपछि केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेटा कम्पनीमाथि कडा आक्रोश पोखेका छन्।
“हाम्रा प्रधानमन्त्रीसामु यति धेरै नझुक्नुहोस्। अन्यथा उहाँले तपाईंलाई भारतमा आफ्नै (प्रधानमन्त्रीको) अकाउन्ट मात्र सञ्चालन गर्न अनुमति दिनुहुनेछ,” केजरीवालले मेटालाई चेतावनी दिँदै एक्समा लेखेका छन्।
केजरीवालले आफ्नो अकाउन्टको ‘स्ट्याटस’ (Status) को स्क्रिनसट समेत सेयर गरेका छन्, जसमा “Unavailable in some locations” (केही स्थानमा उपलब्ध छैन) भन्ने सन्देश देखिएको छ।
मेटा र मोदी सरकारको पछिल्लो टकराव र माफी
केजरीवालको यो आरोप यस्तो समयमा आएको हो, जब एक दिनअघि मात्रै मेटाका शीर्ष अधिकारीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो पोस्ट गल्तीले हट्न पुगेको भन्दै भारतीय प्रविधि मन्त्रीसँग औपचारिक माफी मागेका थिए।
उक्त घटनालगत्तै प्रतिपक्षी नेता केजरीवालको सोसल मिडिया अकाउन्ट भारतमा रोकिएपछि भारतीय राजनीति र सोसल मिडिया सेन्सरसिप (Censorship) को विषयमा फेरि नयाँ तरंग पैदा भएको छ। यस विषयमा मेटा कम्पनीले भने आधिकारिक प्रतिक्रिया दिन बाँकी छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline