एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताका लागि अझै पनि अवसर खुला रहेको तर त्यो धेरै लामो समयसम्म नरहने संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत् उनले इरानी नेतृत्वको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक समाधानका लागि यो अन्तिम अवसर हुन सक्ने बताएका हुन्।
ट्रम्पका अनुसार अमेरिका वार्ताका लागि तयार रहे पनि आफू कुनै निश्चित समयसीमाको दबाबमा नरहेको र आवश्यक परे थप समय लिएर निर्णय गर्न सक्ने अवस्थामा छन्। उनले विगतमा जस्तै यसपटक पनि सैन्य विकल्पलाई तत्काल अघि नबढाई कूटनीतिक प्रयासलाई प्राथमिकता दिएको संकेत गरेका छन्।
यद्यपि इरानले अमेरिकी दाबीलाई अस्वीकार गरेको छ। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीच हाल कुनै औपचारिक वार्ता नरहेको स्पष्ट पार्दै अहिलेको छलफल हर्मुज जलडमरूमध्यसँग सम्बन्धित विषयमा ओमानसँग मात्र केन्द्रित रहेको बताएका छन्। साथै, उनले अघिल्लो युद्धविरामपछि अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेको आरोपसमेत लगाएका छन्।
यसैबीच, यमनका इरान समर्थित हुथी समूहको गतिविधिका कारण लालसागर क्षेत्रको समुद्री यातायात प्रभावित भएको छ। सुरक्षा जोखिम बढेपछि केही तेल ट्यांकरहरूले अफ्रिका हुँदै लामो वैकल्पिक मार्ग अपनाउन थालेका छन्, जसका कारण ढुवानीमा करिब दुई सातासम्म अतिरिक्त समय लागेको अन्तर्राष्ट्रिय जहाज आवागमन तथ्यांकले देखाएको छ।
ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतारलगायत क्षेत्रीय मुलुकहरूको आग्रहपछि योजनाबद्ध सैन्य कारबाही तत्कालका लागि स्थगित गरिएको दाबी गरेका छन्। उनले हर्मुज जलमार्गसँग सम्बन्धित विषयमा प्रगति भएपछि आणविक मुद्दामा पनि सहमतिको सम्भावना बढ्ने विश्वास व्यक्त गरेका छन्।
यस घटनाक्रमपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ट्रम्पले युद्धको तनावका बीच केही ऊर्जा कम्पनीहरूले अस्वाभाविक रूपमा उच्च नाफा कमाइरहेको टिप्पणीसमेत गरेका छन्।