साउन १८, एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबार (आज)बाट सुरु हुने बताएका छन्। उनले आफूले इरानमाथि गर्न लागिएको ‘विशाल’ सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेको पनि बताएको बीबीसीले जनाएको छ ।
आइतबार राष्ट्रपति सवार विमान एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘आक्रमणको तयारी भइरहेको उनीहरूले देखेका थिए, त्यसैले उनीहरूलाई यसको स्तर थाहा थियो। अहिले हामी उनीहरूसँग वार्तामार्फत संवाद गरिरहेका छौं। वार्ता भोलि दिउँसोबाट सुरु हुन्छ।’
यसअघि उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरान र मध्यपूर्वस्थित अमेरिकी साझेदारहरूले सम्भावित आक्रमण रोक्न आग्रह गरेको र सम्झौताका ‘मुख्य रूपरेखा’मा सहमति भइसकेको दाबी गरेका थिए।
तर ट्रम्पको भनाइबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। ट्रम्पले यसअघि पनि युद्धको वार्तामार्फत अन्त्य नजिक पुगेको दाबी गर्दै आएका थिए। तर त्यसपछि दुवै पक्षबीच पुनः आक्रमण–प्रत्याक्रमण सुरु हुने गरेको छ।
एयर फोर्स वनमा ट्रम्पले तेहरानसँग सम्झौता गर्ने कुनै समयसीमा तोकेनन्। उनले भने, ‘हेरौं, अवस्था कस्तो हुन्छ। हामी चाहेको जुनसुकै बेला कदम चाल्न तयार छौं। म मानिस मार्न चाहन्नँ।’
वार्ता कहाँ हुने र त्यसमा को–को सहभागी हुने भन्नेबारे ट्रम्पले भने कुनै जानकारी दिएका छैनन्।ट्रम्पका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमान, साथै संयुक्त अरब इमिरेट्स र कतारलगायत अमेरिकी साझेदारहरूले पनि सप्ताहन्तमा सैन्य आक्रमण नगर्न आग्रह गरेका थिए।
‘हामी पूर्ण रूपमा तयार थियौं,’ ट्रम्पले भने। ‘उनीहरूले रोक्न आग्रह गर्नुको कारण उनीहरूलाई सम्झौता हुने विश्वास छ। हर्मुज जलडमरूमध्यसम्बन्धी सम्झौता हुनेछ, र आणविक विषयमा पनि सहमति हुनेछ।’
ट्रम्पको घोषणापछि सोमबार एसियाली कारोबारमा विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट क्रुडको मूल्य ४.५ प्रतिशत घटेर ८३.९८ अमेरिकी डलर प्रति ब्यारेलमा पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य ४.६ प्रतिशत घटेर ८०.७४ अमेरिकी डलर प्रति ब्यारेलमा झरेको छ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता हर्मुज जलडमरूमध्य हुँदै हुने ढुवानीमा अवरोधको सम्भावनाका कारण ऊर्जा बजारमा मूल्य उतारचढाव भइरहेको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलडमरूमध्यमार्फत ओसारपसार हुने गर्छ।
यता, इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीले तेहरानले अमेरिकालाई सैन्य कारबाही रोक्न आग्रह गरेको ट्रम्पको दाबी अस्वीकार गर्दै त्यसलाई ‘नयाँ झूट मात्र’ भनेको छ।
आइतबार इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै ओमानको मध्यस्थतामा हर्मुज जलडमरूमध्यसम्बन्धी सम्झौताका लागि भइरहेको वार्ता ‘अन्तिम टुंगो लाग्ने चरणमा’ पुगेको बताएका थिए।