केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी

केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी

  • शुक्रबार, साउन १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 855
    SHARES

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतङ्कवादी आक्रमण’ को संज्ञा दिनुभएको छ । उहाँले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबफले केशम टापुको घटना मिनाब र लामर्डमा भएका पूर्व घटनाकै निरन्तरता भएको दाबी गर्नुभयो । उहाँले अमेरिकाले युद्धभूमिमा भोगेका असफलताको क्षतिपूर्ति निर्दोष नागरिकमाथि आक्रमण गरेर गर्न खोजेको आरोप लगाउँदै इरानले यसको कडा जवाफ दिने बताउनुभयो ।

गालिबफको प्रतिक्रिया अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा आइआरजीसीका दर्जनौँ लक्ष्यविरुद्ध ठूलो सैन्य कारबाही सम्पन्न गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो । सेन्टकमका अनुसार जुलाई २९ को राति सम्पन्न आक्रमणमा आइआरजीसीका सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन केन्द्र, तटीय निगरानी र रक्षा संरचना तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित स्थलहरूलाई निशाना बनाइएको थियो ।

अमेरिकी सेनाले जुलाई २८ मा इरानी सेनाले मध्यपूर्वमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी प्रहार गरेका सबै ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरिएको दाबी पनि गरेको छ । सेन्टकमले मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक उच्च सतर्कतासाथ तैनाथ रहेको जनाएको छ ।

यता इरानले केशम टापुमा भएको भनिएको अमेरिकी आक्रमणको प्रतिउत्तरस्वरूप जोर्डनस्थित अल–अजराक हवाई अड्डामा रहेको अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले अमेरिकी एफ–३५ लडाकू विमान राखिएको क्षेत्र र मर्मत केन्द्रलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

आइआरजीसीले उक्त आक्रमणमा तीनवटा एफ–३५ लडाकू विमान पूर्ण रूपमा नष्ट भएको, थप तीनवटा गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा केही अमेरिकी सैनिक, प्राविधिक र मर्मतसम्भार कर्मचारी मारिएको दाबी गरेको छ । यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

इरानी पक्षले अमेरिकी सेनाले जोर्डनस्थित आधारबाट सञ्चालन गरेको हवाई आक्रमणमा केशम टापुका दुई आवासीय घर बङ्कर–बस्टर बमबाट ध्वस्त पारिएको, एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको र अन्य दुई बालबालिका घाइते भएको आरोप पनि लगाएको छ । अमेरिकी पक्षले भने यी आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी