तेहरान, ११ साउन । क्यास्पियन सागरमा आफ्नो मालवाहक जहाजमाथि युक्रेनले गरेको क्षेप्यास्त्र आक्रमणको इरानले कडा शब्दमा भत्सर्ना गरेको छ। एक जना नाविकको ज्यान जाने र अर्का एक जना घाइते हुने गरी भएको उक्त आक्रमणलाई तेहरानले ‘अदूरदर्शी र गैरजिम्मेवार’ कदम भनेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै इरानसँग जोडिएका सैन्य मालवाहक जहाज र युद्धपोतलाई लक्षित गरी गरिएको दूरगामी आक्रमणबाट ‘उत्कृष्ट नतिजा’ मिलेको दाबी गरेका थिए।
‘युद्धको आगो अझै भड्किने खतरा’
युक्रेनी दाबी लगत्तै इरानी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस आक्रमणले चलिरहेको युद्धको आगोलाई अझ भड्काउने र फैलाउने जोखिम बढाएको चेतावनी दिएको छ। इरानले अन्तर्राष्ट्रिय समुदायलाई युक्रेनी शासनको यस कदमविरुद्ध जिम्मेवार भई उभिन र त्यहाँको नेतृत्वलाई जवाफदेही बनाउन आग्रह गरेको छ।
“इस्लामी गणतन्त्र इरान आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न कुनै कसर बाँकी राख्ने छैन,” मन्त्रालयले चेतावनी दिँदै भनेको छ, “इरान रुस-युक्रेन द्वन्द्वमा कहिल्यै पनि संलग्न भएको छैन।”
ड्रोन र सैन्य सहायताको विवाद
इरानले रुस-युक्रेन युद्ध सुरु हुनुअघि नै रुसलाई थोरै सङ्ख्यामा ‘शाहेद-१३६’ कमिकाजे ड्रोन उपलब्ध गराएको स्वीकारे पनि युद्धका क्रममा सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ। यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इरानले रुसलाई दिइरहेको नयाँ सहयोगबारे आफूसँग भएको सूचना सहयोगी राष्ट्रहरूसँग साझा गर्ने बताएका छन्।
अर्कातर्फ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले हालै इरानलाई रुस वा चीनले सैन्य सहायता उपलब्ध गराइरहेको कुरामा सत्यता नरहेको बताएका थिए।
मध्यपूर्व द्वन्द्वमा युक्रेनको चासो
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको मध्यपूर्वी द्वन्द्वमा युक्रेनले पनि चासो देखाउँदै आएको छ। युक्रेनले इरानी ड्रोनविरुद्ध लड्न आफ्ना विशेषज्ञ र प्रविधि खाडी मुलुकहरूलाई उपलब्ध गराउने सम्झौता गरेको दाबी गरेको छ।
जेलेन्स्कीका अनुसार २०० भन्दा बढी युक्रेनी सैन्य विशेषज्ञ मध्यपूर्वमा खटाइएको छ। यद्यपि दुबईमा इरानी आक्रमणमा परी युक्रेनी टोलीले क्षति व्यहोरेको भन्ने खबरलाई भने किभले अस्वीकार गर्दै आएको छ।