लगातार १३ दिनको हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण तत्कालका लागि रोक्न अमेरिकी सेनालाई निर्देशन दिएका छन्। अमेरिकी सञ्चारमाध्यमहरू द न्यूयोर्क टाइम्स र एक्सियोसका अनुसार राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने योजना हाललाई स्थगन गरेका हुन्।
हातहतियारको कमी र कूटनीतिक अवसर
द न्यूयोर्क टाइम्सका अनुसार, पेन्टागनसँग रहेका ‘प्याट्रियट’ एन्टी-मिसाइल इन्टरसेप्टर र अन्य वायु रक्षा प्रणाली (Air Defense Munitions) को भण्डार घट्दै गएको चिन्ताबीच ट्रम्पले यो निर्णय लिएका हुन्। शुक्रबार आफ्ना शीर्ष सल्लाहकार तथा क्याबिनेट सदस्यहरूसँगको उच्चस्तरीय बैठकपछि राष्ट्रपति ट्रम्प यो निष्कर्षमा पुगेका थिए।
यस्तै, समाचार संस्था एक्सियोसले दाबी गरेअनुसार ट्रम्पको यो कदमले कूटनीतिक संवादका लागि थप अवसर दिने र हालको आक्रमणको प्रभावकारिता सीमामा पुगिसकेको स्वीकारोक्तिलाई दर्शाउँछ। यद्यपि, यो आक्रमण विराम अल्पकालीन हो वा निरन्तर रहन्छ भन्नेबारे स्पष्ट भइसकेको छैन। अमेरिकी सेनाले आवश्यकता परेमा पुनः ठूलो स्तरको सैन्य कारबाहीमा फर्किन सक्ने गरी रणनीति तयार पारिरहेको छ।
इरानमाथिको आक्रमणमा संलग्न नरहेको कुवेतको स्पष्टीकरण
यसैबीच, खाडी मुलुक कुवेतले इरानमाथि भएका अमेरिकी आक्रमणमा आफ्ना फाइटर जेटहरू सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ। द वाल स्ट्रीट जर्नलले कुवेत र बहराइनले इरानभित्रका ठेगानाहरूमा आक्रमण गर्न फाइटर जेट पठाएको दाबीसहित समाचार प्रकाशित गरेको थियो।
अमेरिकाका लागि कुवेती राजदूत शेखा अल-जैन अल-सबाले उक्त समाचारको कडा शब्दमा खण्डन गर्दै त्यसलाई ‘पूर्ण रूपमा निराधार’ भनेकी छन्। कुवेतले इरानविरुद्धको कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको र आफ्नो भूभाग, आकाश वा समुद्री क्षेत्रलाई आक्रमणका लागि प्रयोग गर्न नदिएको उनले स्पष्ट पारेकी छन्।
यसअघि, इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडामा मिसाइल तथा ड्रोन प्रहार गरेको थियो। अमेरिकाले आफ्ना सहरहरूमा गरेको आक्रमणको बदलास्वरूप उक्त कदम चालिएको इरानको भनाइ थियो।