पश्चिम एसियामा इरान र अमेरिकाबीचको सैन्य टकराव तीव्र बनेपछि पूर्णकालीन युद्धको खतरा बढेको छ। अमेरिकी सेनाले इरानी बन्दरगाहको नाकाबन्दी तोड्ने प्रयास गरिरहेको भन्दै एक व्यापारिक जहाजमाथि गोलीबारी गरेपछि तनाव थप चुलिएको हो। दुवै पक्ष पछि हट्ने संकेत नदेखिएका बेला इरानले फारसको खाडी वरपर रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएर प्रतिरोधात्मक आक्रमण गरेको छ। अमेरिकी आक्रमण लगातार १३औँ दिन पनि जारी रहँदा इरानले यो प्रत्युत्तर दिएको हो।
यसैबीच, क्षेत्रीय शक्ति राष्ट्र साउदी अरबले पनि यमनको बन्दरगाह सहर होदेइदाहमा बमबारी गरेको छ। इरान समर्थित हुथी विद्रोहीहरूले साउदीको यस कदमपछि स्थिति अझ बिग्रन सक्ने चेतावनी दिएका छन्। तनाव बढेसँगै अमेरिकी दूतावासहरूले आफ्ना नागरिकहरूलाई उक्त क्षेत्रबाट बाहिरिने विकल्पहरू सीमित हुन सक्ने भन्दै सतर्क रहन भनेका छन् भने इरानको रिभोल्युसनरी गार्ड (IRGC) ले छिमेकी देशका नागरिकहरूलाई अमेरिकी सैन्य अखडा भएका क्षेत्रहरूबाट टाढा रहन सल्लाह दिएको छ।
इरान अमेरिकी धम्कीसामु नझुक्ने: विदेशमन्त्री अराघची
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको दबाब र धम्कीसामु इरान कहिल्यै नझुक्ने दृढता व्यक्त गर्नुभएको छ। एक अन्तर्वार्ताका क्रममा उहाँले चीन र रुस जस्ता विश्वव्यापी शक्तिहरूसँग इरान लगातार संवादमा रहेको उल्लेख गर्दै इस्लामिक गणतन्त्र इरान न त धम्कीबाट डराउने न त कुनै दबाबमा आउने स्पष्ट पार्नुभयो।
सङ्कटका कारण मानवीय क्षति र पूर्वाधारमा व्यापक असर
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता हालसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ, जसमा पछिल्लो चरणको भिडन्तमा मात्रै ५५ जनाले ज्यान गुमाएका छन्। पछिल्लो अमेरिकी हवाई आक्रमणका कारण इरानमा यातायात र सञ्चार सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ भने सर्वसाधारणले प्रयोग गर्ने खानेपानीका पूर्वाधारहरूमा गम्भीर क्षति पुगेको छ।
अमेरिकाले होर्मुज जलडमरूमध्ये (Strait of Hormuz) मा जहाजहरूलाई सुरक्षित राख्न इरानी सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरेको दाबी गरे पनि इरानले भने अमेरिकी अखडाहरूमा आक्रमण तीव्र पारेको छ, जसमा परी कम्तीमा चार अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भएको छ। यसैबीच, इजरायल भने हालसम्म यो नयाँ चरणको लडाइँबाट अलग देखिएको छ।
साउदी-अमेरिका आणविक सम्झौता संकटमा, ट्रम्पद्वारा नयाँ सर्त
अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब र अमेरिकाबीच हुन लागेको नागरिक आणविक सम्झौतामा नयाँ सर्त तेर्स्याउँदै यसको भविष्य अनिश्चित बनाइदिनुभएको छ। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत साउदी अरबले ‘अब्राहम सम्झौता’ अन्तर्गत इजरायललाई मान्यता दिई कूटनीतिक सम्बन्ध स्थापना नगरेसम्म यो सम्झौता अघि नबढ्ने स्पष्ट पार्नुभएको छ। उहाँले सम्झौता अन्तर्गत साउदीलाई कुनै पनि हालतमा युरेनियम संवर्धनको अनुमति नदिइने समेत प्रष्ट पार्नुभयो। ऊर्जा मन्त्रालयले सम्झौता घोषणा गरेको २४ घण्टा नबित्दै ट्रम्पको यो कडा अडान सार्वजनिक भएको हो, जसका कारण वासिङ्टनमा अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटको उपस्थितिमा भएको हस्ताक्षर समारोह विवादमा तानिएको छ।