काठमाडौं । अमेरिकी केन्द्रीय कमाण्ड (CENTCOM) ले नागरिक तथा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानी क्षमतालाई थप कमजोर बनाउन लगातार १२ औं रात पनि हवाई आक्रमण गरेको जनाएको छ।
सेन्टकमले जारी गरेको एक विज्ञप्ति अनुसार, पछिल्लो आक्रमणको श्रृंखलामा अमेरिकी सेनाले इरानका समुद्री सैन्य क्षमता, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, तटीय निगरानी क्षेत्र र हवाई रक्षा प्रणाली (एयर डिफेन्स एसेट्स) लगायतका सैन्य लक्ष्यहरूलाई निशाना बनाएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार, अमेरिकी सेनाले यस महिना इरानका दर्जनौं स्थल-आधारित सैन्य ठेगानाहरूमा आक्रमण गर्नुका साथै समुद्री नाकाबन्दी समेत कडा पारेको छ। “आजको मितिसम्म सेन्टकमले इरानी बन्दरगाहहरूमा जहाजहरूको आवतजावत रोक्न नौवटा व्यावसायिक जहाजहरूको मार्ग परिवर्तन गराएको छ भने एउटा जहाजलाई निष्क्रिय पारेको छ,” विज्ञप्तिमा भनिएको छ।
यसैगरी, मध्यपूर्व क्षेत्रमा ५०,००० भन्दा बढी अमेरिकी सैनिकहरू परिचालन गरिएको र उनीहरू अत्यन्तै सतर्क, केन्द्रित र जुनसुकै परिस्थितिको सामना गर्न तयार अवस्थामा रहेको समेत सेन्टकमले जनाएको छ।