प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

  • सोमवार, साउन ४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन् ।

राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले उनीहरूलाई लाउडस्पीकरमार्फत तितरबितर हुन आग्रह गरेको छ ।

प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तिहरू तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन् । उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो । प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन् ।

मेडिकल कलेज र सरकारी सेवाका प्रवेश परीक्षाको प्रश्नपत्र पटक–पटक चुहिएको घटनापछि बढेको असन्तुष्टिले आन्दोलनलाई थप बल दिएको हो । शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले अझ व्यापक समर्थन पाएको छ ।

प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन् । उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

वाङचुकले सरकारले शिक्षा प्रणालीको सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी मुद्दा संसद्मा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताउनुभएको छ ।

दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन सुरु भएकाले सुरक्षा कारण देखाउँदै मार्चको अनुमति नदिइएको जनाएको छ ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन सार्वजनिक रूपमा देखिएको दुर्लभ चुनौती बनेको छ । विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन् ।

यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा अपनाएका छन् । शिक्षामन्त्री प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा सङ्लग्न भएको आरोप लगाउनुभएको छ भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणालीमा सुधारका लागि आन्दोलनमा सहभागी भएको बताउँदै सरकार विद्यार्थीहरूको पीडाप्रति संवेदनशील नभएको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी