एजेन्सी, उत्तरी इराकमा शनिबार भएको इरानी आक्रमणमा एक अमेरिकी सैन्य सदस्यको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ। जोर्डनस्थित सैन्य बेसमा भएको भीषण आक्रमणमा दुई अमेरिकी सैनिकको ज्यान जानुका साथै अर्का एक जना बेपत्ता भएको भोलिपल्टै इराकमा यो अर्को घातक घटना भएको हो।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार खसालिएको एक इरानी ड्रोनको निष्क्रिय नभएको विष्फोटक पदार्थलाई नियन्त्रित विष्फोट गराउने क्रममा उक्त सैनिकको मृत्यु भएको हो। यस घटनामा अर्का एक सैनिक घाइते भएका छन्।
बेपत्ता सैनिकको अवशेष भेटिएको आशंका
सेन्टकमले आफ्नो पछिल्लो विवरणमा जोर्डनमा शुक्रबार भएको आक्रमणस्थलमा खोजी गर्ने क्रममा एक ‘अज्ञात अवशेष’ फेला परेको जनाएको छ। उक्त अवशेष बेपत्ता भएका सैनिककै हो वा होइन भन्ने पुष्टि गर्न पहिचान प्रक्रिया जारी रहेको सेनाले बताएको छ।
क्षेत्रीय तनाव र नाकाबन्दीको चक्र
अमेरिका र इरानबिच दोहोरो आक्रमण र तनाव बढेको आज आठौँ दिन पुगेको छ। प्रारम्भिक युद्धविराम सुरु भएको एक महिना नपुग्दै भङ्ग भएपछि वासिङ्टनले इरानी बन्दरगाहहरूमा पुनः कडा नाकाबन्दी लगाएको छ। बदलामा तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य (Strait of Hormuz) बन्द भएको घोषणा गर्दै यस क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई निशाना बनाउन थालेको छ।
पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्काको महत्त्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको आरोप लगाएका छन्।
अमेरिकी सैन्य हताहतीको संख्या १७ पुग्यो
अमेरिकी सेनाले आफ्ना पछिल्ला हवाई आक्रमणहरू हर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई कमजोर बनाउन र जोर्डन आक्रमणका लागि जिम्मेवार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्प्स (आईआरजीसी) लाई दण्डित गर्न केन्द्रित रहेको दाबी गरेको छ।
जोर्डनस्थित अमेरिकी सैन्य अखडाभित्र प्रमाणित गरिएको भिडियो फुटेजमा कम्तीमा दुई पटक प्रहार भएको र ठूलो विष्फोट भएको देखिएको छ। यस महिनाको सुरुमा बेपत्ता भएका एक अमेरिकी नौसेना पाइलटलाई मृत घोषणा गरिएसँगै जारी सङ्घर्षमा ज्यान गुमाउने अमेरिकी सैनिकको कुल सङ्ख्या १७ पुगेको छ।