सरकारले नयाँ आर्थिक वर्ष आज देखि विभिन्न सात वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ। शिक्षा, स्वास्थ्य, विद्युत्, सुनचाँदी, राइड सेयरिङ, क्यासिनो र उच्चस्तरीय होटल–रिसोर्टसम्ममा करको दायरा विस्तार गरिएपछि यसको प्रत्यक्ष असर दैनिक उपभोगका सेवा महँगिने छ।
नयाँ कर व्यवस्थाको सबैभन्दा प्रत्यक्ष प्रभाव निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक, निजी अस्पतालबाट उपचार लिने बिरामी, ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ता तथा राइड सेयरिङ सेवा प्रयोगकर्तामा पर्ने देखिन्छ।
यसै गरि , सुन खरिद गर्ने उपभोक्ता, पाँचतारे होटल तथा रिसोर्ट प्रयोग गर्ने ग्राहक र विदेशी मदिरा उपभोग गर्नेहरू पनि अतिरिक्त शुल्कको भारमा पर्ने छन्।
सरकारले राजस्वको दायरा विस्तार गर्दै आर्थिक स्रोत सुदृढ बनाउने उद्देश्यले यी नयाँ कर लागू गरेको जनाएको छ। तर करको दायरा शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत सेवासम्म विस्तार हुँदा यसको भार प्रतक्ष् आम नागरिकमाथि नै पर्ने छ ।
विलासिताका वस्तु र सेवामा कर बढाउदा सबैमा असर नपर्ने भएपनि विद्यालयको शुल्क, निजी अस्पतालको उपचार खर्च र विद्युत् खपतमा थप करले मध्यमवर्गीय परिवारको खर्चमा उल्लेख्य रूपमा बढ्ने छ ।