भारतबाट मोटरसाइकलमा गोप्य ठाउँ बनाई ल्याइएको ३० लाखसहित एक जना पक्राउ, गौरको व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख बरामद

भारतबाट मोटरसाइकलमा गोप्य ठाउँ बनाई ल्याइएको ३० लाखसहित एक जना पक्राउ, गौरको व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख बरामद

  • बुधबार, कार्तिक १८, २०८३
  • दिपक चौरसिया

  • 285
    SHARES

रौतहट, १८ कार्तिक । भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याइएको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनको बयानका आधारमा रौतहटको गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा प्रहरीले खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको छ। प्रहरीले यस घटनामा एक भारतीय नागरिक र एक नेपाली व्यापारी गरी दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो करिब ३:३० बजे ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलिया आउने सडकखण्डमा नियमित चेकजाँचका क्रममा ठूलो परिमाणमा स्रोत नखुलेको नगद रकम फेला परेको हो।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल (म.प्र. ०५–००१ प ०५७८) रोकेर जाँच गर्ने क्रममा चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ निवासी करिब ३० वर्षीय सनि कुमार जैसवालको साथबाट ३० लाख रुपैयाँ बरामद गरेको थियो।
प्रहरीका अनुसार जैसवालले उक्त रकम झोलामा राख्नुका साथै मोटरसाइकलको इन्धन ट्याङ्कीमुनि गोप्य फल्स बटम बनाएर लुकाई नेपाल भित्र्याउँदै गरेका थिए। प्रहरीले रकमसँगै मोटरसाइकल र एक थान स्मार्ट मोबाइल फोन बरामद गरी उनलाई नियन्त्रणमा लिएको थियो।
जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याइएको खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले गौरस्थित न्यु तराई ट्रेडर्समा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उक्त व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।


भारतबाट ल्याइएको रकम बुझाउने भनिएका प्रतिष्ठानका सञ्चालक शेख कमरुललाई समेत प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर अनुसन्धान अघि बढाएको छ।
यसरी प्रहरीले मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाख रुपैयाँ र गौरस्थित व्यापारिक प्रतिष्ठानबाट बरामद गरिएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको छ।
प्रहरीले बरामद भएको रकमको स्रोत, भारतबाट नेपाल भित्र्याउनुको उद्देश्य, कारोबारको प्रकृति तथा यसमा अन्य व्यक्ति वा समूहको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


सीमावर्ती क्षेत्रमा अवैध आर्थिक कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसार भइरहेको आशंकाका बीच भएको यस घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ। अनुसन्धानपछि घटनाको थप तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ