बैंककको एक पबमा भीषण आगलागी: २७ जनाको मृत्यु

बैंककको एक पबमा भीषण आगलागी: २७ जनाको मृत्यु

  • सोमवार, असार २९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एसोसिएटेड प्रेस (एपी) का अनुसार बैंककको उत्तरी क्षेत्रमा अवस्थित ‘ना लाडफ्राओ’ पबमा राति करिब १२ बजे अचानक आगलागी भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पबबाट ठूलो आगोको मुस्लो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागभाग गरिरहेको विभत्स दृश्य देखिन्छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले घटनास्थलको निरीक्षण गर्दै २७ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। प्रधानमन्त्री अनुटिनका अनुसार घटनास्थलमा प्रस्तुति दिइरहेका एक संगीतकर्मीले स्टेज नजिकैको विद्युत् सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए। त्यसको लगत्तै विद्युत् आपूर्ति बन्द भएको र केहीबेरमै ठूलो विस्फोटको आवाजसहित बाक्लो धुवाँले पूरै पब भरिएको थियो।

अधिकांश मृतकहरू पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेको प्रधानमन्त्रीले जानकारी दिए। धुवाँ र आगोबाट बच्न उनीहरू त्यसतर्फ भागेको अनुमान गरिएको छ।

बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टका अनुसार अस्पताल भर्ना गरिएका ६३ जनामध्ये २२ जनाको अवस्था चिन्ताजनक छ। धेरैजसो पीडितहरूसँग परिचय खुल्ने कागजात नभएको र कतिपय बेहोस अवस्थामा रहेकाले पहिचान खुलाउन कठिन भइरहेको गभर्नरले बताए। हराइरहेका आफन्तको खोजीमा आएका परिवारका सदस्यहरूलाई सहयोग गर्न घटनास्थलमै एउटा दर्ता केन्द्र स्थापना गरिएको छ।

दमकलकर्मीहरूले करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट पबभित्रका टेबल, कुर्सी र सम्पूर्ण भित्री संरचना जलेर नष्ट भएको छ।

स्थानीय गायिका सुकान्या वोङवोङवाईका अनुसार उक्त पबमा प्रस्तुति दिइरहेका उनका ब्यान्ड सदस्यहरू पनि दुर्घटनामा परेका छन्। उनले भनिन्, “आगो लाग्नेबित्तिकै जताततै अन्धकार भयो र धुवाँले गर्दा कसले कसलाई बचाउने भन्ने मेलो नै पाइएन। हाम्रा एक साथीको मृत्यु भएको छ, तीन जना अस्पतालमा छन् भने एक जना अझै बेपत्ता छन्।”

थाइल्यान्डमा नाइटक्लब र पबहरूमा आगलागी भएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०२२ मा पूर्वी क्षेत्रको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको ज्यान गएको थियो। त्यस्तै, सन् २००९ को जनवरी १ मा बैंकककै सान्टिका नाइटक्लबमा नयाँ वर्षको उत्सव मनाउने क्रममा भएको भीषण आगलागीमा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी