२८ असार, काठमाडौँ । विश्वकै प्रमुख समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ लाई इरानले अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ। इरानको यो कदमसँगै अमेरिका र इरानबीचको सैन्य तनाव थप चुलिएको छ। अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको अझ कडा जवाफ दिने चेतावनी दिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा अंकित एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि अमेरिकाले यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरेको हो। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट उक्त जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाज अगाडि बढ्न नसक्ने अवस्थामा रहेको र चालक दलका एक नागरिक सदस्य बेपत्ता भएको अमेरिकी पक्षको दाबी छ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो, अब उसले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ।’
यता, इरानको सरकारी सञ्चारमाध्यमले भने स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको छ। आईआरजीसीले जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरी रोकिएको जनाएको छ। साथै, यस विषयलाई लिएर अमेरिकाले कुनै सैन्य हस्तक्षेप गरे त्यसको ‘कडा जवाफ’ दिइने र क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू समेत निशानामा पर्ने चेतावनी इरानले दिएको छ।
यसअघि पनि ओमानको जलक्षेत्र हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो। ती घटनापछि अमेरिकाले इरानमाथि गरेको आक्रमणमा परि १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। यद्यपि, कूटनीतिक वार्ता भने जारी रहने र मध्यस्थकर्ताहरूले संवाद पुनः सुरु गराउने प्रयास गरिरहेको उनले बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार इरानले मध्यस्थकर्तामार्फत व्यापारिक ट्यांकरमाथिको आक्रमण ‘गल्तीवश’ भएको र त्यसमा सुरक्षा संयन्त्रभित्रकै नियन्त्रणबाहिरको समूह जिम्मेवार रहेको सन्देश वासिङ्टन पठाएको छ।
तनावकै बीच इरानका सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले राष्ट्रका नाममा पहिलो सार्वजनिक सन्देश जारी गरेका छन्। उनका पिता एवं पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणका क्रममा मृत्यु भएको थियो। शुक्रबार उनको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको थियो।
राज्य सञ्चारमाध्यममार्फत प्रसारित सम्बोधनमा मोज्तबा खामेनीले ‘बदला लिनु राष्ट्रको इच्छा’ भएको बताएका छन्। उनले अमेरिका र इजरायलतर्फ संकेत गर्दै मारिएका आफ्ना नेता र नागरिकको रगतको बदला लिइने चेतावनी दिएका छन्।