काठमाडौँ:
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हरक्षण गम्भीर खतरामा रहेको दाबी गर्नुभएको छ। ‘एयर फोर्स वान’ विमानमा यात्रा गरिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो नाम इरानीहरूको ‘हिटलिस्ट’ को सबैभन्दा माथिल्लो स्थानमा रहेको बताउनुभएको हो।
उक्त उडानका क्रममा सुरक्षा संवेदनशीलताका कारण पत्रकारहरूलाई झ्यालको पर्दा बन्द राख्न भनिएको थियो। सोही विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले भन्नुभयो:
“यो उडान निकै खतरनाक हुन सक्छ। इरानीहरू अत्यन्तै खतरनाक मानिस हुन्। म सधैँ खतराको घेरामा हुन्छु र मेरो नाम उनीहरूको सूचीको शीर्ष स्थानमा छ।”
पत्रकारहरूसँग ठट्टा गर्दै उहाँले थप्नुभयो, “यदि मलाई केही भयो भने, विमानमा रहेका तपाईंहरूलाई पनि खतरा हुनेछ। सायद कुनै दिन तपाईंहरूले आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्नेछ।”
इरानमा अमेरिकाको दोस्रो चरणको भीषण हमला
राष्ट्रपति ट्रम्पको सो बयान लगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानका विभिन्न सहरहरूमा लगातार दोस्रो पटक भीषण हवाई हमला सुरु गरेको छ। इरानको कोनारक, चाबहारलगायत रणनीतिक रूपमा महत्त्वपूर्ण सहरहरूलाई लक्षित गरी अमेरिकी सेनाले बमबारी गरिरहेको छ।
इरानी समाचार एजेन्सी (IRNA) का अनुसार, दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको अमेरिकी आक्रमणमा परि एक जना अग्निनियन्त्रकको मृत्यु भएको छ। सिस्तान र बलुचिस्तान प्रान्तका अधिकारीहरूका अनुसार मध्यरातको साढे १२ बजेतिर सहरभरि चारवटा ठुला र शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए।
व्यापारिक केन्द्र चाबहारमा भागदौड
इरानको एकमात्र समुद्री बन्दरगाह र महत्त्वपूर्ण विश्वव्यापी व्यापारिक केन्द्र मानिने ‘चाबहार फ्रि जोन’ मा अमेरिकी आक्रमण भएपछि त्यहाँका अधिकारीहरूले हतार-हतार गोदामहरू खाली गराउन थालेका छन्। मध्यरातदेखि सुरु गरिएको उद्धार कार्य अन्तर्गत अहिलेसम्म झन्डै ३०० भन्दा बढी सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ भने बाँकी सामग्री हटाउने काम जारी रहेको छ।
शान्ति सम्झौता ‘समाप्त’ भएको घोषणा
यसअघि मंगलबार मात्रै अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार विश्वकै व्यस्त जलमार्ग ‘होर्मुज स्ट्रेट’ मा मालवाहक जहाजहरूमाथि भएको आक्रमणको बदला लिन यो कारबाही गरिएको हो।
बुधबार आयोजित नेटो (NATO) शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले द्वन्द्व अन्त्यका लागि इरानसँग गरिएको राजनीतिक समझदारी अब ‘समाप्त’ भएको घोषणा गर्नुभएको थियो।