अमेरिका र इरानबिचको सैन्य तनाव चरम उत्कर्षमा पुगेको छ। अमेरिकी आक्रमणको जवाफी कारबाही स्वरूप इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर भीषण हमला सुरु गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार कुवेत, कतार र बहराइनमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा इरानले मिसाइल र ड्रोन प्रहार गरेको हो।
कुवेत र कतारमा सुरक्षा अलर्ट
कुवेती सेनाका जनरल स्टाफले देशको ‘एयर डिफेन्स सिस्टम’ (वायु रक्षा प्रणाली) ले दुश्मनका मिसाइल र ड्रोनहरूलाई आकाशमै ध्वस्त पारिरहेको दाबी गरेका छन्। त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार देशैभर खतराको साइरन बजिरहेको छ। यता कतारको गृह मन्त्रालयले आफ्ना नागरिकहरूलाई घरभित्रै रहन, झ्याल र सिसाका सामानहरूबाट टाढा बस्न र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा शरण लिन कडा निर्देशन जारी गरेको छ। यद्यपि, केही समयको तनावपछि कतारले खतराको अवस्था तत्कालका लागि टरेको बताएको छ।
बहराइनस्थित अमेरिकी नौसेनाको मुख्यालयमा निशाना
रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने बहराइनस्थित अमेरिकी सेनाको ‘पाँचौँ बेडा’ (Fifth Fleet) को मुख्यालयलाई लक्षित गरी इरानले ठुलो आक्रमण गरेको छ। बहराइनमा दुई पटकसम्म खतराको साइरन गुञ्जियता पनि त्यहाँको गृह मन्त्रालयले आक्रमणको आधिकारिक स्रोतबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन। यसअघि इरानले अमेरिकी ८५ वटा सैन्य ठेगानाहरू ध्वस्त पारिदिएको दाबी गरेको थियो।
युद्ध रोक्न कुटनीतिक दौडधुप: पाकिस्तानको भूमिका
यस भयानक तनावका बिच खाडी क्षेत्रमा पूर्ण रूपमा युद्ध भड्किन नदिन पाकिस्तान सक्रिय भएको छ। साउदी सञ्चारमाध्यम ‘अल अरबिया’ का अनुसार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले तनाव कम गर्ने उद्देश्यले इरानी शीर्ष नेताहरूसँग लगातार वार्ता गरिरहेका छन्।
“आक्रमण गरे बदलाको सामना गर्न तयार रहू” — इरान
यसैबिच, इरानी संसद्का सभामुख एवं मुख्य वार्ताकार मोहम्मद बाकर गालिबाफले वासिङ्टनलाई कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उनले भनेका छन्:
“यदि अमेरिकाले सम्झौता र बाचा तोड्छ भने त्यसको मूल्य चुकाउनुपर्नेछ। स्पष्ट भन्नुपर्दा— यदि हामीमाथि आक्रमण भयो भने, तिमीहरूमाथि पनि आक्रमण हुनेछ।”
गालिबाफले विश्वकै प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ लाई लिएर समेत चेतावनी दिँदै यो मार्ग अमेरिकी धम्कीले नभई इरानको व्यवस्थापन र निर्णयबाट मात्र सञ्चालन हुने प्रष्ट पारेका छन्।