भेनेजुएला भूकम्प: मृतकको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता

भेनेजुएला भूकम्प: मृतकको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता

  • शनिबार, असार १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

काठमाडौँ : भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति गएका ७.२ र ७.५ म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्पका कारण शनिबारसम्म मृतकको संख्या ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी) ले जनाएको छ। भूकम्पका कारण ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएका छन् भने ५१ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्। घाइते हुनेको संख्या ३ हजार ३०० नाघेको छ भने हालसम्म २४३ जनाको मात्र जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।

सरकारी उद्धार टोली पर्याप्त मात्रामा पुग्न नसक्दा नागरिकहरू आफैँ भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्। उद्धार कार्यमा ढिलाइ हुँदा भग्नावशेषमा जीवितै फसेकाहरूलाई बचाउने सम्भावना क्षीर्ण हुँदै गएको स्थानीयले बताएका छन्। सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा उद्धार कार्यमा भीडभाड र ट्राफिकले अवरोध पुर्‍याउन थालेपछि सरकारले अनुमति बिना प्रवेश गर्न रोक लगाएको छ। ला गुआइरामा आफ्ना परिवारका सदस्यहरू खोजिरहेकी नाजारेथ जिमेनेजले भग्नावशेष हटाउन भारी उपकरण उपलब्ध गराइदिन विश्व समुदायसँग अपिल गरेकी छन्।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार भूकम्पबाट भेनेजुएलाका करिब ६७ लाख ६० हजार मानिस प्रभावित हुन सक्ने अनुमान छ, जसमध्ये झन्डै २० लाख राजधानी काराकासका बासिन्दा छन्। लगातार दुईवटा सतह नजिक केन्द्रविन्दु भएका शक्तिशाली भूकम्पका कारण क्षति झन् भयावह बनेको विज्ञहरूको भनाइ छ। अधिकारीहरूका अनुसार मोबाइल सेवा अवरुद्ध भएका कारण सम्पर्कविहीन भएकाहरू पनि बेपत्ताको सूचीमा परेका छन् भने एउटै व्यक्तिको खोजीमा धेरै आफन्तले विवरण दर्ता गर्दा तथ्याङ्क दोहोरिएको हुन सक्ने अनुमान गरिएको छ।

रेडक्रसकी अमेरिकाज क्षेत्रीय निर्देशक लोइस पेसका अनुसार पराकम्पनका कारण मानिसहरू आफ्नै घरभित्र फर्किन अझै डराइरहेका छन्। धेरै परिवार सडकमै रात बिताइरहेका छन् भने कतिपयले औषधि पसलको पार्किङ क्षेत्रमा पाल र त्रिपाल टाँगेर अस्थायी बास बनाएका छन्। यसैबीच, मुख्य विमानस्थल नजिकको काटिया ला मार क्षेत्रमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री लुटपाट हुन थालेका खबरहरू आएका छन्। राहत वितरण गर्ने सवारीसाधन वरिपरि लागेको ठूलो भीडलाई सैनिकले नियन्त्रणमा लिनुपरेको छ। यस विपत्तिमा आफ्नो परिवारका करिब २० सदस्य गुमाएका ओमार रेयेसले आफ्ना दुई सन्तान पुरिएको भग्नावशेषतर्फ हेर्दै अब यो जीवनमा आफू एक्लो भएको भन्दै गहिरो शोक व्यक्त गरेका छन्।

विपत्तिका बीच भेनेजुएलामा अन्तर्राष्ट्रिय सहयोग भित्रिने क्रम तीव्र भएको छ। मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्यान्ड, कोलम्बियालगायतका देशबाट आएका ८६१ अन्तर्राष्ट्रिय स्वयंसेवकहरू उद्धारमा खटिएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार विश्वभरबाट २५ वटा खोज तथा उद्धार टोलीका करिब १ हजार उद्धारकर्मी भेनेजुएला प्रस्थान गरिरहेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जीवितहरूको उद्धारलाई पहिलो प्राथमिकता दिइएको बताएकी छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोन वार्ता भएको र अमेरिकाले थप उद्धार टोली र आवश्यक उपकरण पठाउने प्रतिबद्धता जनाएको जानकारी दिइन्। स्थानीय बासिन्दाले भने उपलब्ध सहयोग आवश्यकताको तुलनामा निकै कम रहेको गुनासो गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी