मध्यपूर्वमा फेरि युद्धको खतरा बढेर गएको छ। अमेरिकी सेनाले मंगलबार राति इरानका विभिन्न ठेगानाहरूमा शक्तिशाली हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘होरमुज स्ट्रेट’ (Strait of Hormuz) नजिकै अमेरिकाको ‘अपाचे’ हेलिकप्टर खसालिएको जवाफमा यो सैन्य कारबाही गरिएको हो।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्तीमा रहेको अमेरिकी एएच–६४ (AH-64) अपाचे हेलिकप्टरलाई इरानले मार हानेर खसालेको दाबी गरेका थिए। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “दुर्घटनामा परेका दुवै पाइलट सुरक्षित छन्, तर अमेरिकाले यस प्रहारको कडा जवाफ दिनैपर्छ।” ट्रम्पको सोही चेतावनी लगत्तै अमेरिकी वायुसेना इरानी आकाशमा गर्जिएको हो।
जवाफमा इरानद्वारा अमेरिकी नौसेनाको मुख्यालयमा ड्रोन आक्रमण
अमेरिकी हवाई हमलाको लगत्तै इरानको ‘इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स’ (IRGC) ले बहराइनमा रहेको अमेरिकी सैन्य ठेगाना र अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’ (Fifth Fleet) को मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गर्दै इरानी सेनाले हरेक हमलाको उचित जवाफ दिने चेतावनी दिएका छन्। उनले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, “यदि आफ्ना सैनिक सुरक्षित राख्न चाहन्छौ भने तुरुन्तै हाम्रो क्षेत्र (मध्यपूर्व) छोडेर जाऊ।”
हेलिकप्टर दुर्घटनाको विषयमा विरोधाभास
तनाव उत्कर्षमा पुगे पनि अपाचे हेलिकप्टर दुर्घटनाको वास्तविक कारणबारे भने फरक–फरक दाबीहरू सार्वजनिक भइरहेका छन्। एक उच्च अमेरिकी सैन्य अधिकारीका अनुसार अपाचे हेलिकप्टर इरानले मिसाइल हानेर खसालेको नभई इरानी ड्रोनसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। यद्यपि, घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।