काठमाडौं, जेठ २५ । मध्यपूर्व (पश्चिम एसिया) मा पुनः तनाव चुलिएको छ। इरानले इजरायललाई लक्षित गरी मिसाइल प्रहार गरेपछि क्षेत्रमा युद्धको खतरा फेरि बढेको हो। गत अप्रिल महिनाको सुरुवातमै लागू भएको युद्धविराम भंग गर्दै इरानले यो आक्रमण गरेको इजरायलले दाबी गरेको छ।
यो नयाँ घटनाक्रमले युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासहरूमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ।
आइतबार इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा हवाई आक्रमण गरेपछि इरानले कडा जवाबी कारबाहीको चेतावनी दिएको थियो। मिडिया रिपोर्टहरूका अनुसार अमेरिकाले केही दिनअघि मात्रै इजरायललाई यस्तो आत्मघाती कदम नचाल्न आग्रह गरेको थियो। तर, अमेरिकाको आग्रहलाई बेवास्ता गर्दै इजरायलले बेरुतमा आक्रमण गरेपछि इरान आक्रोशित बनेको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेरुतको एक आवासीय भवनमा भएको सो इजरायली आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। इजरायलले भने इरान समर्थित सङ्गठन हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको गोलाबारीको जवाफमा सो कारबाही गरिएको दाबी गरेको छ।
केही दिनअघि मात्रै लेबनान र इजरायल सरकारबीच अमेरिकाको मध्यस्थतामा युद्धविरामको सहमति भएको थियो। तर, हिजबुल्लाहले सो सम्झौता स्वीकार गर्न अस्वीकार गर्दै आएको थियो।
इजरायली सेनाले इरानले प्रहार गरेका सबै मिसाइलहरूलाई आफ्नो एन्टि-मिसाइल डिफेन्स सिस्टम (वायु रक्षा प्रणाली) ले सफलतापूर्वक बीचमै रोकेर नष्ट गरिदिएको दाबी गरेको छ।
अर्कोतर्फ, इरानी सेनाले इजरायललाई कडा चेतावनी दिँदै लेबनानमाथिको आक्रमण नरोके अझ विनाशकारी प्रहारको सामना गर्नुपर्ने चेतावनी दिएको छ। बेरुत र दक्षिणी लेबनानमा आक्रमण तीव्र पारेर इजरायलले सबै सीमा पार गरेको इरानको आरोप छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफूहरूले सबै मोर्चाहरूमा पूर्ण रूपमा लागू हुने सर्तमा मात्र अमेरिकासँगको युद्धविराम स्वीकार गरेको स्पष्ट पारेको छ। लेबनानमा इजरायलले जारी राखेको सैन्य कारबाही सो समझदारीको विपरीत भएको आईआरजीसीको भनाइ छ।
इरानको यो मिसाइल आक्रमणपछि इजरायलका दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले तीव्र आक्रोश पोखेका छन्। उनले प्रतिक्रिया दिँदै भनेका छन्, “अब तेहरान जल्नुपर्छ।”
यो ताजा घटनाक्रमले मध्यपूर्वको क्षेत्रीय स्थिरता र शान्ति प्रयासमा गम्भीर संशय पैदा गरिदिएको छ।