काठमाडौं, २१ वैशाख ।
खाडी सहयोग परिषद् (जीसीसी) ले कुवेत र बहराइनमा हालै भएका आक्रमणहरूलाई लिएर इरानको कडा आलोचना गरेको छ। संगठनले यी आक्रमणहरूलाई ‘कायरतापूर्ण’ संज्ञा दिँदै यसले पश्चिम एसिया (मध्यपूर्व) मा तनाव थप बढाएको बताएको छ।
जीसीसीका महासचिव जासिम मोहम्मद अलबुदैवीले इरानले लगातार चालिरहेका यस्ता कदमहरू खाडी देशहरूको सुरक्षा, स्थिरता र सम्प्रभुताका लागि गम्भीर खतरा भएको उल्लेख गर्नुभयो। उहाँले हालैको आक्रमण अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय मापदण्डहरूको ठाडो उल्लङ्घन भएको आरोप लगाउँदै इरानलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले कडा अडान लिनुपर्नेमा जोड दिनुभएको छ। खाडी सहयोग परिषद् (जीसीसी) मा कुवेत, कतार, साउदी अरब, बहराइन, ओमान र यूएई आवद्ध छन्।
बुधबार कुवेत विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण भएको थियो, जसका कारण विमानस्थलमा क्षति पुग्नुका साथै उडानहरू केही समयका लागि स्थगित गरिएका थिए। उक्त आक्रमणमा परि केही मानिसहरू घाइते समेत भएका थिए।
इरानको जवाफी चेतावनी र अडान
इरानले भने आफ्नो सुरक्षामा आँच आए कडा जवाफ दिने चेतावनी दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले कुनै पनि देशको भूमि इरानविरुद्ध प्रयोग गरिएमा त्यसको कडा प्रतिवाद गर्ने बताउनुभयो। ‘अल-मयादीन’ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाँले अमेरिका-इजरायल र इरानबीचको द्वन्द्व लेबनानमा पूर्ण रूपमा युद्ध समाप्त भई इजरायली सेना त्यहाँबाट पछि हटेपछि मात्र सकिने स्पष्ट पार्नुभयो।
इजरायल-लेबनान युद्धविराम बलियो बन्दै, घट्यो कच्चा तेलको मूल्य
यसैबीच, अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनान पहिलेदेखि लागु रहेको युद्धविरामलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका छन्। यो सम्झौताअन्तर्गत हिजबुल्लाहले दक्षिणी लेबनानको लितानी नदी क्षेत्रबाट पछि हट्नुपर्नेछ र इजरायलतर्फ हुने सबै प्रकारका आक्रमण रोक्नुपर्नेछ। केही ‘पाइलट जोन’ हरू बनाएर त्यहाँ केवल लेबनानी सेना मात्र तैनाथ गरिने सहमति भएको छ। मे महिनामा ४५ दिनका लागि थपिएको युद्धविरामलाई नै अहिले व्यावहारिक रूप दिन खोजिएको हो।
यो सकारात्मक विकाससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। पश्चिम एसियाको तनाव कम हुने अपेक्षामा लगानीकर्ताहरू ढुक्क देखिँदा अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ६७ सेन्ट (०.६९ प्रतिशत) ले घटेर प्रति ब्यारेल ९७.१४ डलर कायम भएको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई (WTI) क्रुड पनि ६२ सेन्ट (०.६५ प्रतिशत) ले घट्दै प्रति ब्यारेल ९५.४० डलरमा कारोबार भएको छ।
ट्रम्पको कडा सन्देश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा ठूलो युद्ध भड्किन नदिने नीति लिएको बताइएको छ। ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्टअनुसार ट्रम्पले सानातिना सैन्य झडप र तनावलाई युद्ध रोक्ने रणनीति अनुरूप सहँदै आए पनि आफ्ना सहयोगीहरूसँगको निजी कुराकानीमा कडा चेतावनी दिनुभएको छ। रिपोर्टका अनुसार इरान समर्थित कुनै पनि आक्रमणमा परि अमेरिकी सैनिकको ज्यान गएमा ट्रम्पले तत्काल युद्धविराम अन्त्य गरि सैन्य कदम चाल्ने विषयमा विचार गर्न सक्ने चेतावनी दिनुभएको छ। (एजेन्सीहरूको सहयोगमा)