काठमाडौँ, जेठ २१ गते । लामो समयदेखि जारी तनावका बीच इसराइल र लेबनन अमेरिकाको मध्यस्थतामा पूर्ण युद्धविराम लागू गर्न सहमत भएका छन्। दक्षिणी लेबननमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इसराइली सेनाबीच भइरहेको भीषण लडाइँ रोक्न अमेरिकाले गरिरहेको कूटनीतिक प्रयासपछि यो महत्त्वपूर्ण सहमति जुटेको हो।
इरानले अमेरिकासँग हुनसक्ने जुनसुकै सम्झौताका लागि इसराइल र लेबननबीचको युद्ध अन्त्य हुनुपर्ने सर्त अघि सार्दै आएको थियो। त्यसैले यो सहमतिसँगै मध्यपूर्वमा जारी तनाव कम हुने र इरान–अमेरिकाबीचको सम्भावित युद्ध रोकिने सम्भावना बलियो बनेको छ।
बुधबार अमेरिकासँग संयुक्त रूपमा जारी गरिएको एक विज्ञप्तिमा इसराइल र लेबननले शत्रुतापूर्ण गतिविधिहरू तत्कालका लागि रोक्न सहमति जनाएका छन्। सम्झौता अनुसार हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इसराइलमाथिका आक्रमणहरू पूर्ण रूपमा बन्द गर्नुपर्नेछ।
अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यो युद्धविराम हिजबुल्लाहका तर्फबाट हुने आक्रमण पूर्ण रूपमा रोकिने र दक्षिणी लिटानी क्षेत्रबाट हिजबुल्लाहका सबै कार्यकर्ताहरू हट्ने सर्तमा आधारित छ।’
यद्यपि, यो सम्झौताले लेबननमा जारी लडाइँलाई पूर्ण रूपमा रोक्छ कि रोक्दैन भन्नेमा अझै केही आशंकाहरू कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘फाइनान्सियल टाइम्स’ ले जनाएको छ। यसअघि गत अप्रिलमा पनि अमेरिकाकै मध्यस्थतामा भएको युद्धविराम प्रयास असफल भएको थियो। यो नयाँ घोषणाबारे हिजबुल्लाहले अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन भने इसराइलले आफ्ना सैन्य गतिविधिहरू जारी राखेको छ।
ट्रम्पको दबाबपछि सहमति
गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलमा रकेट प्रहार गरेको थियो। त्यसको जवाफमा इसराइलले मार्च महिनामा लेबननको सीमाभित्रै छिरेर सैन्य कारबाही तीव्र पारेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई फोन गरेर दबाब दिएपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार मात्रै आंशिक युद्धविरामको घोषणा भएको थियो। ट्रम्पको कडा चेतावनीपछि इसराइलले लेबननको राजधानी बेरुतमा गर्ने भनिएको ठुलो हमलाको योजना समेत स्थगित गरेको थियो। मंगलबारको आंशिक युद्धविराम लगत्तै दुवै पक्ष अहिले पूर्ण रूपमा युद्धविराम लागू गर्ने बिन्दुमा आइपुगेका हुन्।