काठमाडौँ, १७ जेठ । अमेरिका र इरानबीच जारी तनावका बीच इरानले अमेरिकी ‘एमक्यू–९ रिपर’ (MQ-9 Reaper) ड्रोन मार हानेको दाबी गर्दै नयाँ एयर डिफेन्स सिस्टम सार्वजनिक गरेको छ। इरानले यस कारबाहीमा आफ्नै देशमा विकसित नयाँ प्रविधि प्रयोग गरिएको बताएपछि उसको बढ्दो सैन्य क्षमतालाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा चासो बढेको छ।
होर्मुज जलडमरूमध्य नजिकै कारबाही
इरानी सञ्चारमाध्यमहरूका अनुसार यसै हप्ताको सुरुवातमा होर्मुज जलडमरूमध्य (Strait of Hormuz) नजिकै केश्म टापु क्षेत्रमा अमेरिकी जासुसी ड्रोनलाई निशाना बनाइएको थियो। अमेरिका र इजरायलले इरानी सैन्य ठेगानाहरूमा महिना दिनदेखि गरिरहेका आक्रमणका बाबजुद इरानले नयाँ खतराहरूलाई रोक्ने आफ्नो सैन्य क्षमता कायमै राखेको यस घटनाले देखाउँछ।
इरानले पहिलोपटक युद्धको मैदानमा स्थानीय रूपमा विकसित ‘आरास–ए–कमङ्गीर’ (Arash-e-Kamangir) नामको नयाँ एयर डिफेन्स सिस्टम प्रयोग गरेको दाबी गरेको छ। यद्यपि, इरानको यो दाबीलाई लिएर अन्य स्वतन्त्र स्रोतहरूबाट पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले जनाएको छ।
बढ्दो सैन्य तनाव
अमेरिकाले होर्मुज जलडमरूमध्य आसपास इरानको सैन्य गतिविधिलाई निगरानी गर्न उक्त ड्रोन पठाएको बताइएको छ। इरानी एयर डिफेन्स युनिटको नजरमा परेलगत्तै मिसन पूरा गर्नु अगावै ड्रोनलाई खसालिएको थियो। यस कारबाहीपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले जवाफी कारबाहीस्वरूप बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा समेत आक्रमण गरेको जनाएको छ।
इरानको अर्ध–सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार ‘आरास–ए–कमङ्गीर’ सिस्टममा अत्याधुनिक ‘स्टेल्थ-डिटेक्सन’ (राडारलाई छल्ने विमानहरू पत्ता लगाउने) क्षमता रहेको छ। इरानले यसको विस्तृत प्राविधिक विवरण गोप्य राखे पनि यो प्रणाली आफ्नो हवाई र समुद्री सीमा नजिक उडान भर्ने शत्रु विमानहरूका लागि कडा चेतावनी भएको बताएको छ। इरान र अमेरिकाबीच एकातर्फ शान्ति वार्ताको प्रयास भइरहेका बेला अर्कोतर्फ रणनीतिक क्षेत्र होर्मुजलाई लिएर सैन्य टकराव उत्कर्षमा पुगेको छ।