तेहरान, १३ जेठ । अमेरिकाको मिसाइल तथा ड्रोन हमलापछि इरानका राष्ट्रपति मसूद पेजेश्कियनले सैन्य कमाण्डर तथा रक्षा मन्त्रालयका शीर्ष अधिकारीहरूको आपतकालीन बैठक बोलाएका छन्। मंगलबार बिहान अमेरिकी हमला भएलगत्तै डाकिएको उक्त बैठकमा राष्ट्रपति पेजेश्कियनले सेनालाई थप आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
इरानी सरकारी सञ्चार माध्यम (IRNA) का अनुसार बैठकमा राष्ट्रपतिले हालैको संघर्षमा सेनाले देखाएको बहादुरीको प्रशंसा गर्दै अमेरिकी र इजरायली चुनौतीका सामु इरानी सशस्त्र बलले देशको रक्षा शक्ति र प्रतिरोध क्षमतालाई थप मजबुत बनाएको दाबी गरे। साथै उनले शत्रुको हरेक गतिविधिलाई कडा निगरानीमा राख्न समेत निर्देशन दिएका छन्।
‘शत्रुले हाम्रो सैन्य क्षमताको अनुमान गर्न सकेन’
राष्ट्रपति पेजेश्कियनले इरानी सेनाको तयारीको तारिफ गर्दै भनेका छन्, “हाम्रो सशस्त्र बलसँग यति बलियो आक्रामक क्षमता, रणनीतिक तयारी र अपरेसनल तत्परता छ भन्ने कुरा शत्रुले कहिल्यै सोचेको थिएन। यो सफलता वर्षौँदेखिको निरन्तर योजना र आधुनिकीकरणको परिणाम हो।”
यद्यपि, शत्रुहरू आधुनिक प्रविधि र उपकरणले सुसज्जित भएकाले इरानले पनि द्रुत गतिमा उन्नत रक्षा प्रविधितर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो। यसका लागि विश्वविद्यालय, अनुसन्धान केन्द्र र ज्ञानमा आधारित कम्पनीहरूसँगको सहकार्यलाई बढावा दिइने उनले बताए।
रक्षा उद्योग र आन्तरिक एकतामा जोड
इरानको रक्षा उद्योगमा महत्त्वपूर्ण प्रगति भए पनि यसको गतिलाई अझै बढाउनुपर्ने आवश्यकता राष्ट्रपतिले औँल्याए। उनले रक्षा र सुरक्षा संरचनालाई आधुनिक प्राविधिक परिवर्तन अनुसार पुनर्संरचना गरिने उल्लेख गरे।
आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति पेजेश्कियनले राष्ट्रिय एकता र सामाजिक सद्भाव नै देशको मुख्य शक्ति भएको बताउँदै शत्रुले देश भित्र विभाजन ल्याउन खोजिरहेकाले सतर्क रहन आग्रह गरे। सुरक्षाका लागि अमेरिकामाथि निर्भर रहेका यस क्षेत्रका कतिपय देशहरूले अहिले अमेरिकी नीति असफल भएको बुझिसकेको भन्दै उनले अमेरिकामाथिको निर्भरताले स्थायी सुरक्षा दिन नसक्ने दाबी गरे।