विश्व कूटनीतिमा तीव्र राजनीतिक हलचल देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्। क्रेमलिनले शनिबार सार्वजनिक गरेको तालिका अनुसार राष्ट्रपति पुटिन मे १९ र २० (जेठ ६-७ गते) मा दुई दिने औपचारिक भ्रमणका लागि बेइजिङ पुग्नेछन्।
अमेरिकी राष्ट्रपतिको भ्रमण लगत्तै हुन लागेको पुटिनको यो भ्रमणलाई विश्व राजनीतिमा वासिङ्टन र मस्कोबिच बेइजिङलाई आफ्नो पक्षमा पार्ने कूटनीतिक होडबाजीका रूपमा हेरिएको छ।
ट्रम्पको भ्रमण लगत्तै पुटिनको इन्ट्री: के छन् मुख्य एजेन्डा?
बेइजिङ-मस्को बलियो गठबन्धन: ट्रम्पको भ्रमणमा भएका छलफल र सहमतिका बिच राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेट गरी मस्को र बेइजिङबिचको रणनीतिक सहयोग र साझेदारीलाई अझै उचाइमा पुर्याउने रणनीति बनाएका छन्।
संयुक्त घोषणापत्र र नयाँ सन्देश: दुवै नेताहरूले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा विचार आदान–प्रदान गर्ने र वार्तापछि एक संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। यस घोषणापत्रमार्फत पश्चिमा देशहरूलाई बलियो रणनीतिक जवाफ दिने मस्कोको योजना देखिन्छ।
व्यापारिक सुरक्षा र आर्थिक छलफल: पश्चिमा प्रतिबन्धका बिच चीन रूसी इन्धनको सबैभन्दा ठुलो खरिदकर्ता हो। पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग आर्थिक तथा व्यापारिक सहयोगलाई थप सुरक्षित र बिस्तार गर्ने विषयमा विशेष वार्ता गर्नेछन्।
त्रिकोणात्मक भू-राजनीतिको केन्द्रमा चीन
यो कूटनीतिक दौडधुपले युक्रेन–रूस द्वन्द्व, विश्वव्यापी व्यापार र तीव्र बन्दै गएको भू–राजनीतिक तनावलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। एकातिर अमेरिकाले चीनलाई रूससँग दूरी बनाउन दबाब दिइरहेको छ भने अर्कोतिर रूस चीनसँगको सम्बन्धलाई अझै कसिलो बनाउन लागिपरेको छ।
चीनले भने आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दै युद्ध अन्त्यका लागि नियमित वार्ताको आह्वान गर्दै आएको छ। बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार दिएको कुरा अस्वीकार गर्दै उल्टै पश्चिमा देशहरूले युक्रेनलाई हतियार दिएर द्वन्द्व लम्ब्याएको आरोप लगाउँदै आएको छ।
अमेरिका र रूस दुवैका लागि चीन मुख्य आर्थिक र रणनीतिक साझेदार रहेकाले ट्रम्प लगत्तै हुन लागेको पुटिनको यो भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ।