२२ वैशाख, काठमाडौं । भारतको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको छ। ५० वर्षपछि पहिलोपटक देशका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहने भएको हो। वामपन्थीहरूको अन्तिम बलियो आधार मानिएको केरल पनि यसपटक उनीहरूको हातबाट फुस्किएको छ।
केरल विधानसभा निर्वाचनमा कांग्रेस नेतृत्वको यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले १० वर्षपछि सत्तामा फर्किएको छ। कुल १४० सिट रहेको केरलमा कांग्रेस एक्लैले ६३ सिट जितेको छ भने उसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले २२ र अन्य सहयोगी दलले १७ सिट हासिल गरेका छन्। वामपन्थी दलहरू भने ३५ सिटमा सीमित भएका छन्, जसले गर्दा केरलमा वामपन्थी सत्ता गुम्ने निश्चित भएको छ।
केरलमा सन् २०१६ देखि २०२६ सम्म वामपन्थी सरकार थियो। अब केरल गुमेपछि भारतका कुनै पनि राज्यमा वामपन्थी दलको सरकार नरहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचार एजेन्सी आईएएनएसका अनुसार सन् १९७० को दशकपछि पहिलो पटक यस्तो अवस्था आएको हो।
सन् १९७७ मा पश्चिम बंगालमा सीपीआई–एमको सरकार बनेको थियो, जुन २०११ सम्म कायम रह्यो। त्यसपछि त्यहाँ तृणमूल कांग्रेसको सरकार बन्यो। हालैको विधानसभा निर्वाचनमा पश्चिम बंगालमा तृणमूल कांग्रेस ८१ सिटमा खुम्चिएको छ भने भाजपाले २०६ सिट जितेको छ। कम्युनिस्ट पार्टीले त्यहाँ २ सिट मात्र जितेको छ। त्यसैगरी, सन् १९९८ देखि २०१८ सम्म त्रिपुरामा लेफ्ट फ्रन्टको सरकार थियो। सन् २०१८ मा त्यो राज्य पनि भाजपाको नियन्त्रणमा गयो।
यसरी भारतमा वामपन्थी दलहरू अहिले ‘शून्य सरकार’ मा पुगेका छन्। यो उनीहरूका लागि ठूलो राजनीतिक झट्का मानिएको छ।