वासिङ्टन – ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको भोज कार्यक्रममा गोली चलाएको आशंका गरिएका व्यक्तिमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको अभियोग लगाइएको छ। दोषी ठहरिएमा उनलाई जन्मकैदको सजाय हुन सक्ने अदालतबाट आरआईए नोवोस्तीका सम्वाददाताले जनाएका छन्।
सोमबार अदालतमा सुनुवाइका क्रममा सरकारी वकील जोसेलिन ब्यालेन्टाइनले भनिन्, “उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पको हत्या गर्ने प्रयास गरेका थिए।”
अदालतमा बिना हतकडी उपस्थित गराइएका ती संदिग्धमाथि गोली चलाएको र अवैध रूपमा हतियार ओसारपसार गरेको समेत अभियोग लगाइएको छ। आरोपी एलेनले अहिलेसम्म आफ्नो बचाउमा कुनै बयान दिएका छैनन्।
न्यायाधीश म्याथ्यू शार्बाघले अर्को सुनुवाइ नभएसम्मका लागि उनलाई हिरासतमा राख्न आदेश दिएका छन्। थप थुनछेक बहस आगामी बिहीबारका लागि तय गरिएको छ। एलेनका वकिल तेजिरा अबेका अनुसार उनको कुनै पुरानो आपराधिक रेकर्ड छैन।
यसअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यस गोलीकाण्डलाई ट्रम्प विरुद्धको “हत्या प्रयास” भनेकी थिइन्।