वासिङ्टन । अमेरिकाको लुइसियाना प्रान्तस्थित श्रेभेपोर्टमा आइतबार भएको शृंखलाबद्ध गोलीकाण्डमा परी ८ जना बालबालिकाको दुःखद मृत्यु भएको छ। १ देखि १४ वर्ष उमेर समूहका ती बालबालिकाहरूको ज्यान लिने बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन्।
श्रेभेपोर्ट प्रहरीका अनुसार आइतबार बिहान करिब ६ बजे तीन अलग-अलग स्थानमा गोलीबारी भएको थियो। प्रारम्भिक अनुसन्धानबाट यो घटना ‘घरेलु कलह’ का कारण भएको खुलेको छ। बन्दुकधारीले आफ्नै आफन्त पर्ने बालबालिकाहरूलाई समेत निशाना बनाएको प्रहरीले जनाएको छ।
गोली प्रहार गरी कार चोरेर भाग्दै गरेका संदिग्धलाई प्रहरीले पछ्याएको थियो। बोशियर सिटीसम्म पुगेको उक्त लखेटपछिको मुठभेडमा बन्दुकधारी मारिएका हुन्। यस घटनामा कुल १० जनालाई गोली लागेकोमा ८ बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ। लुइसियाना स्टेट प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र सर्वसाधारणलाई घटनासँग सम्बन्धित कुनै पनि भिडियो वा तस्बिर भए उपलब्ध गराउन आग्रह गरेको छ।