चेन्नई (एजेन्सी) | तमिलनाडुको विरुधुनगर जिल्लास्थित एक पटाका कारखानामा आइतबार भएको भीषण विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । विरुधुनगर नजिकैको कट्टानारपट्टीमा रहेको ‘वनजा पटाका फ्याक्ट्री’ मा यो दुःखद दुर्घटना भएको हो ।
प्रहरीका अनुसार आइतबार दिउँसो उद्योगमा काम भइरहेका बेला अचानक विस्फोट भएको थियो । विस्फोटको समयमा कारखानाभित्र करिब ३० जना कामदारहरू कार्यरत थिए । विस्फोट यति शक्तिशाली थियो कि कारखानाका चारवटा कोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । घटना लगत्तै अग्नि नियन्त्रक टोलीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । उद्धार टोलीले भग्नावशेषबाट हालसम्म १८ वटा शव निकालेको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी उपरीक्षक (एसपी) श्रीनाथले घटनास्थलको निरीक्षण गर्नुभएको छ । उक्त कारखाना गोविन्दनाल्लूर निवासी मुथु मानिकमको स्वामित्वमा रहेको र वैधानिक इजाजतपत्र (RDO License) अन्तर्गत सञ्चालनमा रहेको खुलेको छ । विस्फोटको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुमान अनुसार प्रज्वलनशील पदार्थको भण्डारणमा भएको असावधानीले विस्फोट भएको हुनसक्ने बताइएको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै राहत कार्यमा ढिलाइ नगर्न प्रशासनलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री स्टालिनले मन्त्रीद्वय केकेएसएसआर रामचन्द्रन र थंगम थेन्नारासुलाई तत्काल घटनास्थल पुगेर उद्धार कार्यको अनुगमन गर्न खटाउनुभएको छ ।
यसैगरी, भारतका राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस घटनालाई हृदयविदारक भन्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभएको छ ।