अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पाकिस्तान भ्रमणमा जान सक्ने बताउनु भएको छ। तर, यो भ्रमण अमेरिका र इरानबीचको कुनै ठोस सम्झौतामा हस्ताक्षर हुने अवस्थामा मात्र सम्भव हुने उहाँले स्पष्ट पार्नु भयो। ह्वाइट हाउस बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको तनाव अन्त्य गर्ने सम्झौता इस्लामावादमा तय भएमा आफू त्यहाँ जान तयार रहेको बताउनु भएको हो।
इरानसँगको वार्तामा मध्यस्थकर्ताको भूमिका निभाएको भन्दै राष्ट्रपति ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख (आर्मी चिफ) असीम मुनीरको उच्च प्रशंसा गर्नुभयो। ट्रम्पले भन्नुभयो, “यदि इस्लामावादमा सम्झौता हुन्छ भने म त्यहाँ जान सक्छु। फिल्ड मार्शल (असीम मुनीर) ले उत्कृष्ट काम गर्नुभएको छ। पाकिस्तानका प्रधानमन्त्रीको भूमिका पनि धेरै राम्रो छ। उनीहरू म त्यहाँ आएको चाहन्छन्।”
ट्रम्पले इरानले आफ्ना धेरै सर्तहरू मानिसकेको दाबी गर्दै भन्नुभयो, “मलाई लाग्छ हामी इरानसँग सम्झौताको निकै नजिक छौँ।” इरानले आफ्नो संवर्द्धित युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको संकेत गर्दै ट्रम्पले तेहरानले परमाणु कार्यक्रम छोड्नुपर्नेमा जोड दिनुभयो।
यस्तै, आगामी अप्रिल २२ मा समाप्त हुन लागेको १४ दिने युद्धविरामको समयसीमा सम्झौताका लागि थप केही दिन बढाउन सकिने समेत उहाँले बताउनुभयो। वार्ता सफल भएमा तेल आपूर्तिमा सहजता आउने र तेलको मूल्य समेत घट्ने ट्रम्पको विश्वास छ।