लामो समयको तनावपछि अमेरिका र इरानबीच पुनः वार्ताको वातावरण बन्न थालेको छ। ह्वाइट हाउसले दुई देशबीच दोस्रो चरणको वार्ता हुनसक्ने संकेत दिएको छ, जसको सम्भावित स्थल पाकिस्तान हुने बताइएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले हालैको प्रेस ब्रिफिङमा तेहरानसँगको कूटनीतिक संवाद जारी रहेको पुष्टि गरिन्। यद्यपि, अर्को बैठकको आधिकारिक मिति भने अझै तय भइनसकेको उनले जानकारी दिइन्।
मध्यपूर्वमा जारी तनावका बीच कूटनीतिक प्रयासहरू तीव्र पारिएका छन्। यही सिलसिलामा बुधबार पाकिस्तानका आर्मी चिफ जनरल असीम मुनीर नेतृत्वको एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको छ।
प्रेस सचिव लेभिटले भनिन्: “इरानसँगको संवाद सार्थक र निरन्तर छ। आमनेसामने वार्ताका रिपोर्टहरू आएका छन्, तर जबसम्म ह्वाइट हाउसले आधिकारिक जानकारी दिँदैन, यसलाई अन्तिम नमान्नुहोला। तर, दोस्रो चरणको वार्ताका लागि पाकिस्तान नै मुख्य स्थल हुने सम्भावना उच्च छ।”
अमेरिकाले इरानसँगको यो कूटनीतिक प्रक्रियामा पाकिस्तानको भूमिकाको उच्च प्रशंसा गरेको छ। लेभिटले पाकिस्तानलाई यो वार्ताको एकमात्र मध्यस्थकर्ताका रूपमा स्वीकार गर्दै भनिन्: “हामी पाकिस्तानको मित्रता र यो सम्झौतालाई निष्कर्षमा पुर्याउन उनीहरूले गरेको प्रयासको कदर गर्छौं। अमेरिकाले इरानसँग ‘युद्धविराम’ का लागि अनुरोध गरेको भनी आएका रिपोर्टहरूलाई ह्वाइट हाउसले खण्डन गरेको छ। लेभिटले त्यस्ता रिपोर्टहरू गलत भएको र अमेरिकाले युद्धविराम बढाउने कुनै माग नगरेको प्रस्ट पारिन्।
तेहरान भ्रमणका क्रममा जनरल असीम मुनीरले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरे। सो अवसरमा दुवै पक्षले क्षेत्रीय स्थिरता कायम राख्न र वार्ताको प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
यो कूटनीतिक सक्रियताले मध्यपूर्वको तनाव कम गर्न र अमेरिका–इरान सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने अपेक्षा गरिएको छ।