इस्लामाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट (Hormuz Strait) बाट गुज्रिने जहाजहरूमाथि अमेरिकी जलसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै ट्रम्पले उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूको निगरानी र जाँच गरिने बताएका हुन्।
विशेष गरी इरानलाई ‘टोल’ (महसुल) बुझाउने जहाजहरूमाथि अमेरिकाले कडा नजर राख्ने भएको छ। ट्रम्पका अनुसार इरानलाई गैरकानूनी रूपमा टोल बुझाउने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन। इरानको आर्थिक शक्तिलाई कमजोर पार्न अमेरिकाले यो रणनीति लिएको बुझिएको छ। आवश्यक परेको खण्डमा युद्ध अन्त्य गर्नका लागि सैन्य कारबाही गर्न समेत अमेरिका तयार रहेको ट्रम्पको भनाइ छ।
यसअघि इरानका उप-संसद् अध्यक्ष हाजी बाबाईले होर्मुज स्ट्रेट इरानको पूर्ण नियन्त्रणमा रहेको भन्दै यसलाई ‘रेड लाइन’ घोषणा गरेका थिए। उनले उक्त मार्ग प्रयोग गर्ने जहाजहरूले अनिवार्य रूपमा इरानी मुद्रा ‘रियाल’ मा टोल तिर्नुपर्ने अडान राखेका छन्।
इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा भएको २१ घण्टा लामो शान्ति वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएको छ। परमाणु कार्यक्रम र होर्मुज स्ट्रेट खुला गर्ने विषयमा दुवै पक्षबीच कुरा नमिलेपछि वार्ता विफल भएको हो। विश्वको महत्त्वपूर्ण व्यापारिक मार्गमा देखिएको यो तनावले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा ठूलो संकट निम्त्याउन सक्ने देखिएको छ।