एजेन्सी | चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की नेता चेङ ली–वुनबीच शुक्रबार बेइजिङमा एक ‘दुर्लभ’ र महत्वपूर्ण भेटवार्ता भएको छ। बिगत एक दशकमा कुनै पनि बहालवाला केएमटी नेताले गरेको यो पहिलो चीन भ्रमण हो।
सन् २०१६ मा ताइवानमा सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) की साई इङ–वेन राष्ट्रपति निर्वाचित भएपछि बेइजिङले ताइवान सरकारसँगको उच्चस्तरीय संवाद पूर्ण रूपमा विच्छेद गरेको थियो। साईले ‘एक चीन’ को अवधारणालाई स्वीकार नगरेपछि बेइजिङ रुष्ट बनेको हो।
बीबीसीका अनुसार, ग्रेट हल अफ द पिपुलमा भएको भेटका क्रममा राष्ट्रपति सीले ताइवानको स्वतन्त्रताको कडा विरोध गर्दै दुई देशबीचको सम्बन्ध सुधारमा जोड दिएका छन्। उनले भने,
“हाम्रो साझा मातृभूमिको शान्ति र स्थिरताको रक्षा गर्न, वारिपारिको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउन र भावी पुस्तालाई उज्ज्वल र सुन्दर भविष्य दिनका लागि दुई पार्टीका नेताहरू आज भेटिरहेका छौँ।”
जवाफमा नेता चेङले ‘चिनियाँ जनताको पुनर्जागरण जलडमरुमध्यको दुवैतर्फका मानिसहरूको साझा आकांक्षा हो’ भन्दै यो भेटले विश्व शान्तिमा योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
यस भ्रमणको ताइवानमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। सत्तारुढ दल डीपीपी र अन्य दलहरूले नेता चेङको भ्रमणको आलोचना गर्दै उनलाई बेइजिङको ‘कठपुतली’ बनेको र बेइजिङसामु ‘लम्पसार’ परेको आरोप लगाएका छन्।
बेइजिङले ताइवानका वर्तमान राष्ट्रपति लाई चिङ–तेलाई सुरुदेखि नै ‘विखण्डनकारी’ को संज्ञा दिँदै आएको छ। केही विश्लेषकहरूका अनुसार, चाङको यो भ्रमणको तत्परता उनका पूर्ववर्तीहरूको तुलनामा चीनप्रति बढी खुला देखिएको छ।
बेइजिङले ताइवानलाई आफ्नो अभिन्न भूभाग भएको दाबी गर्छ र यसलाई नियन्त्रणमा लिन आवश्यक परे बलपूर्वक कब्जामा लिने सम्भावनालाई पनि नकार्न सकेको छैन। यस्तो अवस्थामा विपक्षी नेताको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।