तेहरान इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा इरानले आफ्नो उपस्थिति र कडाइलाई थप सशक्त बनाउने संकेत गरेका छन्। इरानी सरकारी टेलिभिजनमार्फत जारी गरिएको एक विज्ञप्तिमा खामेनीले अब इरानले होर्मुजको व्यवस्थापनमा केवल नियन्त्रण मात्र नराखी एक सोचमुलक र रणनीतिक ‘नयाँ चरण’ मा प्रवेश गर्ने घोषणा गरेका हुन्।
शनिबार पाकिस्तानमा युद्धविरामपछि इरान र अमेरिकी अधिकारीहरूबीच वार्ता हुन सक्ने सम्भावनाका बीच तेहरानबाट यस्तो कडा टिप्पणी सार्वजनिक भएको हो।
होर्मुजलाई रणनीतिक हतियार बनाउँदै इरान गत फेब्रुअरी २८ मा सुरु भएको क्षेत्रीय संघर्षपछि होर्मुज जलडमरूमध्यको महत्त्व विश्वभर, विशेष गरी एसियाली देशहरूका लागि प्रष्ट भइसकेको छ। विश्वको ठूलो हिस्सा कच्चा तेलको ओसारपसार हुने यो मार्गलाई इरानले अहिले एक ‘रणनीतिक हतियार’का रूपमा प्रयोग गर्न खोजेको देखिन्छ।
मोजतबा खामेनीका अनुसार, “इरानले होर्मुजको व्यवस्थापनलाई अब थप व्यवस्थित र प्रतिबन्धात्मक बनाउन सक्छ।” उनले इरान युद्धको पक्षमा नरहेको तर आफ्नो अधिकारबाट पछि नहट्ने समेत स्पष्ट पारेका छन्।
प्रतिरोध मोर्चा र बदलाको संकल्प खामेनीले मध्यपूर्वमा रहेका आफ्ना सहयोगी शक्तिहरू (प्रतिरोध मोर्चा) लाई एक ‘एकीकृत एकाइ’ को रूपमा व्याख्या गरेका छन्। उनले तेहरान यस संघर्षको ‘निश्चित विजेता’ रहेको दाबी गर्दै जवाफी कारबाही इरानको मुख्य अडान रहने बताएका छन्।
विशेष गरी, इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्युको ४० दिन पुगेको शोकको घडीमा यो बयान आएको हो। मोजतबाले आफ्ना दिवंगत नेता र शहीदहरूको बदला लिन इरान दृढ रहेको उल्लेख गर्दै यो लडाइँलाई रणनीतिक र प्रतीकात्मक दुवै दृष्टिकोणले हेरिएको बताएका छन्।
विश्व अर्थतन्त्रमा पर्न सक्ने प्रभाव इरानको यो पछिल्लो कदमले विश्व बजारमा तेलको मूल्य र आपूर्तिमा गम्भीर असर पार्ने अनुमान गरिएको छ। एसियाली मुलुकहरूको ऊर्जा सुरक्षाका लागि होर्मुज जलडमरूमध्य लाइफलाइन मानिन्छ, जसमा इरानले कडाइ गर्दा अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रमा त्रास बढेको छ।