काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि गर्ने भनिएको सैन्य आक्रमण अन्तिम समयमा दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। आक्रमण सुरु हुन केही समय मात्र बाँकी रहँदा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
यसअघि ट्रम्पले चेतावनी दिँदै ईरानले आफ्ना सर्तहरू नमाने “आज रातै एउटा सभ्यता समाप्त हुनेछ” भन्ने कडा अभिव्यक्ति दिएका थिए, जसले विश्वभर तनाव चर्किएको थियो।
ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शहबाज सरीफ र असीम मुनिर को पहलमा आक्रमण स्थगित गरिएको बताएका छन्।
उनका अनुसार, ईरानले हर्मुज जलडमरुलाई तुरुन्त, सुरक्षित र पूर्ण रूपमा सञ्चालनमा ल्याउने सर्तमा अमेरिका आक्रमण रोक्न तयार भएको हो।
मंगलबार साँझ आक्रमणको समयसीमा नजिकिँदै जाँदा विश्वभर तनाव उच्च बिन्दुमा पुगेको थियो। निर्धारित समयभन्दा केही समय अगाडि ट्रम्पले निर्णय परिवर्तन गरेका हुन्।
बिहानै उनले “आजको रात विश्व इतिहासकै महत्वपूर्ण मोड बन्न सक्छ” भन्दै चेतावनी दिएका थिए।
ट्रम्पले अमेरिका आफ्नो सैन्य लक्ष्य पूरा गरिसकेको दाबी गर्दै ईरानबाट आएको १० बुँदे प्रस्तावलाई वार्ताका लागि सकारात्मक आधार भएको बताएका छन्।
अब आगामी दुई हप्तामा दीर्घकालीन शान्ति सम्झौता टुंग्याउने तयारी भइरहेको उनको भनाइ छ। दुवै पक्षबीच पारस्परिक रूपमा युद्धविरामतर्फ अघि बढ्ने संकेत देखिएको छ।