तेहरान/वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अपमानजनक शब्द प्रयोग गर्दै दिएको सैन्य धम्कीपछि मध्यपूर्वको तनावले खतरनाक मोड लिएको छ। मंगलबारको समयसीमा नजिकिँदै गर्दा इरानी विदेश मन्त्रालयले अमेरिकी धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै यसले विश्वव्यापी संकट निम्त्याउने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानलाई चेतावनी दिँदै मंगलबारसम्मको ‘अल्टिमेटम’ दिएका छन्। उनले इरानी नेतृत्वप्रति अपमानजनक शब्द प्रयोग गर्दै यदि इरानले आफ्नो रणनीति नबदलेमा त्यहाँका भौतिक पूर्वाधार, विशेष गरी पावर प्लान्ट र पुलहरू ध्वस्त पारिने धम्की दिएका छन्। ट्रम्पले यसलाई “इरानको इतिहासकै सबैभन्दा कालो दिन” हुने दाबी समेत गरेका छन्। ट्रम्पले ईरानी जनतालाई पागल र नर्कमा बस भन्दै तथानाम गाली गलौज समेत गरेका छन् ।
ट्रम्पको उत्तेजक बयान सार्वजनिक भएलगत्तै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाहीले तेहरानमा पत्रकार सम्मेलन गर्दै इरान कुनै पनि आक्रमणको प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।
प्रवक्ता बघाहीले भनेका छन्: “अमेरिकी राष्ट्रपतिको भाषा कुटनैतिक मर्यादा बाहिरको र एक सार्वभौम राष्ट्र विरुद्धको नाङ्गो हस्तक्षेप हो। इरानले कहिल्यै युद्ध चाहेको छैन, तर यदि हाम्रो जमिन वा पूर्वाधारमा थोरै मात्र पनि क्षति पुर्याउने प्रयास गरियो भने, हामी त्यसको जवाफ युद्धमैदानबाटै दिनेछौँ। ट्रम्पको यो गैरजिम्मेवारपूर्ण धम्कीले क्षेत्रलाई विनाश तर्फ धकेल्नेछ।”
बघाहीले थप प्रष्ट पार्दै अमेरिकी धम्कीलाई ‘मनोवैज्ञानिक आतंक’को संज्ञा दिएका छन् र आफ्ना सैन्य बलहरू उच्च सतर्कतामा रहेको जानकारी दिएका छन्।
मंगलबार रातिको समयसीमा सकिएसँगै युद्धले थप विस्तार लिने देखिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो द्वन्द्व अब प्रोक्सी युद्ध बाट सिधै आमनेसामनेको सैन्य मुठभेडमा परिणत हुने सम्भावना बढेको छ।
ट्रम्पले इरानको उर्जा र यातायात सञ्जाललाई मुख्य निशाना बनाउने संकेत गरेका छन्।
इरानले स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा बन्द गर्ने र क्षेत्रीय अमेरिकी आधार शिविरहरूमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने तयारी गरेको बुझिएको छ।
मंगलबारको घटनाक्रमले मध्यपूर्वको भूगोल मात्र नभई विश्वको तेल आपूर्ति र सुरक्षा व्यवस्थामा समेत दीर्घकालीन असर पार्ने निश्चित देखिएको छ।